१८ आषाढ २०७९, शनिबार

उद्योगी बन्ने यस्ता टिप्स (अन्तरवार्ता)

संवाददाता

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल

व्यवसाय र औद्योगिक क्षेत्रले लय समाउन भएका प्रयास पर्याप्त देखिँदैन । राज्यको तर्फबाट दिने ब्याज छुट तथा पुनर्कर्जाको बिषय पनि उद्योगी ब्यवसायीले हरेक वर्ष उठाउने मध्येको विषय हो । यसै सन्दर्भमा उद्योगी व्यवसायीका  समस्याबारे  उद्योग संगठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :-

कोरोनाका कारण समस्या बेहोर्नुपरेको उद्योग व्यवसाय क्षेत्र अब लयमा फर्कियो कि अवस्था के छ ?
अहिलेसम्म उद्योगहरु लकडाउनका बेला जुन अवस्थामा थिए त्यही अवस्थामै छन् । पहिलो चरणको लकडाउनपछि शुरु हुन थालेका व्यवसाय बन्द हुँदैनन् की भन्ने हामीलाई लागेको थियो । पहिलो लकडाउनबाट क्षति बेहोरेर पनि लय समाउँदै गरेका ब्यवसाय दोश्रो चरणको लकडाउनले उठ्नै नसक्ने अबस्थामा पुगेका छन् । अझ, तेश्रो चरणको लकडाउन शुरु होला की जस्तो देखिएको छ, यसले हामी व्यवसायी थप त्रासमा छौँ । उद्योग व्यवसायको अवस्था एकदमै निराशाजनक छ । जेनतेन ठेलेर, दवावमा व्यवसाय गरिरहेका छौं ।

लकडाउनको अवधिमा उद्योगहरु बन्द नै पनि गर्नुपर्यो कि ?
लकडाउनको बिचमा सबै क्षेत्र नै अस्तब्यस्त थिए । अहिले बन्द भएका उद्योग सुचारु हुने तरखर गरेर अघि बढ्दैछन् । खाद्यान्न र औषधिबाहेकका उद्योग लगभग बन्द कै अवस्थामा थिए । जब लकडाउन अलिक खुकुलो भएपछि खुल्ने चरणमा रहेको भएपनि अझै पनि उद्योगले गती लिन भने सकेका छैनन् । अहिले पनि ३० प्रतिशत उद्योगले उत्पादन कटौती गरेका छन् । पहिलाको अवस्थामा फर्किने अवस्था छैन । क्रेता र विक्रेताबिचको तालमेल अहिले देखिँदैन । त्यसले गर्दा बजारमा चहलपहल नहुँदा त्यसको असर उत्पादनमा परिरहेको छ ।

लकडाउनको बेला तपाईंहरुले नयाँ उद्यमी बनाउने अभियान शुरु गरेको बताउनुभएको छ, त्यो कस्तो कार्यक्रम र योजना हो ?
यो, नविनतम् सोच र केही गरौं भन्ने उर्जाशील युवाहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रम हो । यसबाट नयाँ उद्यमी जन्माउने भन्ने हो । हामी केवल आफ्नो उद्योग व्यवसाय वरिपरि मात्र सीमित रहनु हुँदैन भन्ने सोच लिएका छौँ । हामीले बिहान उठेदेखि रातिसम्म आफ्नो उद्योगको उत्पादन, नाफा–घाटाको वरिपरि मात्र घुम्ने नभई यो समाजप्रतिको दायित्व पनि छ । जहाँ दैनिक सयौंको संख्यामा नेपाली युवा दाजुभाई तथा दिदी बहिनीहरु विदेशिनु परेको छ । कतिपयले नेपालमा नै केही गरौँ न भनेर लागि परेपनि कोसिस गर्दा गर्दा हार खाएर विदेश जानू भएको होला । हामीकहाँ केही गरौँ भन्नेलाई प्रोत्साहन गर्नु त कता कता उल्टै निरुत्साहित गर्ने र खुट्टा तान्ने प्रवृत्ति छ । त्यसलाई चिर्ने प्रयासमा हामी छौँ । अवसरको खोजी गरिरहनुभएका युवा साथीहरुलाई उद्यमी बनाउने महत्वाकांक्षी योजना लिएर हामी अघि बढेका छौँ । कार्यक्रम सुरु भए यता धेरै योजना दर्ता भईसकेका छन् । सहजकर्ता, आर्थिक र प्राविधिक सल्लाह, लगानीसम्म जुटाउन सहयोगीको रुपमा हामी लागि परेका छौँ ।

स्वदेशी बस्तुको प्रवद्र्धन गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उदेश्यका साथ ‘मेरो देश मेरो उत्पादन’ महत्वकांक्षी योजना शुरु गरेका छौँ । सकेसम्म स्वदेशी बस्तुको नै उत्पादनलाई प्राथमिकता दिउँ भन्ने हो । स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने खपत बढाउने र सकेसम्म आन्तरिक उत्पादनको कुरालाई मेरोदेश मेरो उत्पादनले जोड दिएको छ ।

तपाईंहरुले सोचे जस्तो नयाँ उद्यमी बनाउन सजिलो छ ?
हामीले अभियान थालनी गर्न थालेको पु्ग नपुग एक महिना भयो । यो बिचमा पनि धेरै छलफल गरेका छौँ । हाम्रो पनि पहिलो प्रयास हो, कोसिस गर्दैछौं । जटिलताका बिचमा पनि केही गर्न सकिन्छ कि भन्ने आशा बोेकेर अघि बढ्नेहरु मध्येका हामी पनि हौँ । सजिलो छैन पक्कै तर गर्नै नसकिने भन्ने पनि होइन । पहिलो चरणमा हामीले २० जनाको उत्कृष्ट योजना छान्ने छौं र नवीनतम योजना अघि बढाउने छौँ ।

नयाँ उद्यमी बनाउन भनेको लगानी गर्न रकम पनि दिने हो की, प्रबिधि वा सिप मात्र सिकाउने हो ?
हामी उद्यमी बनाउने भनेर लागेका छौँ । नवीनतम सोच बोकेका युवालाई प्रविधिक सल्लाह दिने हो । त्यसको लागि सल्लाह दिने हो । नयाँ सोचसहित आएका युवा उद्यमीलाई उद्योग संगठनले पैसा दिँदैन सहजीकरण गर्ने मात्र हो । संगठनले आईडिया माग गरेको छ । साउन अन्तिमसम्मका लागि सुचना आह्वान गरिएको छ । दर्ता हुन आएका नयाँ सोचहरुलाई हामीले प्राथमिकतामा राखेर हेर्ने हो । आएका प्रस्ताव र सोचका आधारमा पूर्वाञ्चाल विश्वविद्यालय, मनमोहन प्राबिधिक विश्वविद्यालय, उद्योग संगठनसहितको टोलीले बिभिन्न चरणमा छानेर २० वटा सोचलाई छान्ने हो । आएका योजनालाई लगानी गर्न कुनै एउटा बैंकसँग जोड्ने काम हुन्छ ।

हामीकहाँ केही गरौँ भन्नेलाई प्रोत्साहन गर्नु त कता कता उल्टै निरुत्साहित गर्ने र खुट्टा तान्ने प्रवृत्ति छ । त्यसलाई चिर्ने प्रयासमा हामी छौँ ।

सरकारले दिने सहुलियतपुर्ण कर्जालाई पनि सहजीकरण गर्ने, बैंकसँग जोडाई दिने, कर्जाको व्यवस्थापन गर्ने काम गछौं । शुरुदेखि १८ महिनासम्म सहयोगीको रुपमा सिकाएर अघि बढ्न सिकाउने गरि नव प्रवद्र्धन कार्यक्रम ल्याएका हौँ । न्युनतम १ लाखदेखि करिब १ करोडसम्मको उद्योगलाई सहयोग गर्ने हाम्रो उद्धेश्य हो । कसैले ५ करोडको योजना ल्याईदियो भने हामीले त्यसमा सहयोग गर्दैनौँ । साना परियोजनामा हामीले त्यही उद्योगलाई धरौटी राखेर ऋण देउ भनेर बैंकहरुसँग सहजीकरण गर्ने हो । संगठनमा हामी धेरै उद्योगी छौँ । हाम्रा उद्योगहरुमा भएका प्राबिधिक जनशक्तिलाई परिचालन गरेर उनीहरुलाई आईडिया दिएर उद्यमी बनाउन खोजेको हो ।

तपाईं उद्योग संगगठनमा आए लगत्तै केही नयाँ योजना ल्याउनुभएको छ, तत्काललाई चर्चामा आउनको लागि मात्र हो भन्नेहरु पनि छन् नि ?
म सँधै व्यक्तिगत चर्चाबाट टाढा बस्छु । चर्चामा आउनु वा मिडियाबाजी गर्नु मेरो स्वभावले दिँदैन । संस्थागत संरचना पनि त्यस्तै नै हो । संस्थाको नीति बिधि र संचालन प्रक्रिया पहिला जे हो त्यही अनुसार अघि बढ्ने हो । हाम्रो जस्तो संस्थाले जे गर्नुपर्ने हो त्यही अनुसारका मात्र अघि सारेको छ । उत्पादन र उद्यमशीलताको विकासद्वारा समुन्नत रास्ट्र निर्माण नै संगठनको मुख्य लक्ष्य हो । सोही अनुरुप विभिन्न कार्यक्रमको परिकल्पना गरि योजना अगाडि बढाईसकेका छौँ । सीप विकास तालिम केन्द्रको स्थापना भैसकेको छ । उद्योग खुल्ने तर प्राविधिक जनशक्तिलाई विदेशको मुख ताक्नु पर्ने समस्याको अन्त्य गर्ने लक्ष्य हाम्रो हो । ऐन कानुनमा भएका विरोधाभाषपूर्ण बुँदाहरुको संशोधनकालागि अध्ययन सुरु भएको छ । हामीले बाँकी रहेका धेरै काम उद्योगमैत्री रुपमा गर्ने सोच बनाएअनुसारका कार्यक्रमहरु शुरुवात भएका छन् ।

उद्योगी व्यवसायीका गुनासा र समस्या सँधै एकै खालको हुन्छन्, राज्यसँग सँधै यो भएन त्यो भएन भनेको मात्र सुनिन्छ सँधै किन ?
हामी उद्योगी व्यवसायीका समस्या उद्योग, ब्यापार व्यवसायसँग सम्बन्धित नै हुन्छन् । तर हाम्रो पनि कहीँ कतै कमी कमजोरी छ । हामीले हाम्रा मागहरु प्रस्तुत गछौँ र गरिरहेका पनि छौँ, तर सहि तरिकाले प्रस्तुत गर्न पनि सकिरहेका छैनौँ । तथ्यांकसहित राम्रोसँग अध्ययन गरि सम्बन्धित क्षेत्रसँग संवाद गर्दा अबश्य केही सुनुवाइ हुन्छ । हाम्रा कुरा हामीले सही रुपमा प्रस्तुत गर्न नसक्नु अनि सरकार पनि सँधै उदासिन हुनुले अहिलेको अवस्था आएको हो । बिषय एकै खालको देखिने अनी सरकार पनि उदासिन भएको जस्तो लाग्ने गरेको छ । हामीले हाम्रा समस्या राख्नु भनेको राज्यलाई लगानीमैत्री वातावरणका लागि उत्प्ररित गर्नु हो । राज्यले हाम्रा मागमा सम्बोधन नगरिदिने वानीका कारण हामी निराश छौँ । यसको महसुस राज्यले पनि गर्नुपर्छ ।

व्यवसायीको समस्यामा राज्यले गर्नुपर्ने चैँ के थियो त ?
उद्योगमा ठुलो लगानी छ । भएको सम्पती हालेर व्यवसाय सञ्चालन गरेका छौँ । ऋणको भारी बोकेर भएपनि ठूलो संख्यामा देशभित्रै रोजगारी सिर्जना गरेका छौँ । यो सत्य कुराको पछाडि हामीलाई व्यवसाय गर्ने सहज वातावरण चाहिन्छ भन्ने हाम्रो मुख्य कुरा हो । हामीले भन्दै आएका स्थिर राजनीति, उद्योग व्यवसायमैत्री दीर्घकालीन नीति, प्रक्रियागत जटिलतालाई सरलीकरण गर्नुपर्छ भन्ने पनि हाम्रो माग हो । औद्योगिक पूर्वाधारको विकास, उत्पादन प्रवद्र्धन गर्न सहज नीतिसँगै अप्ठेरो परेका बेला हाम्रो समस्याको समाधान गरिदिए हामीलाई पुग्छ । अहिलेको अवस्थामा हेर्दा राज्यका कुनैपनि यन्त्र उद्योग, व्यवसाय मैत्री नभएको हो की जस्तो लाग्छ, कानुनी जटिलता र झण्झटिलो व्यवस्थाले गर्दा भएको हो ।

तपाईं विदेशमा बसेर केही सिकेर फर्किनु भएको युवा व्यवसायी, नेपालमा गर्नसक्ने सम्भावनाहरु के-के हुन् ?
हामीले गर्न सक्ने नेपालमा अथाह सम्भावना छ । उहाँ अवसर नै अवसर छन् । अवसर छन्, तर ती अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने चाहिँ हामीले बनाउने योजनामा भर पर्छ । राज्यले पूर्वाधारको विकाश र जटिल प्रकृयालाई सहजिकरण गरिदिए पुग्छ । भर्खर केही गर्छु भनेर अघि बढ्दै गरेको ब्यक्ति दुई बल्ड्याङ तल पुगेको छ भने त्यसलाई उठाउन सक्नुपर्छ । अहिलेसम्म त्यस्तो प्रवृत्ति देखिएको छैन । अघि बढ्दै गरेको ब्यक्तिलाई खुट्टा तानेर लडाएर विकास सम्भाव छैन । उत्पादनमुखी अर्थतन्त्रको विकासद्वारा स्वदेशी बस्तुको प्रवद्र्धन गर्दै आर्थिक विकासको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि, पर्यटन भन्छौं तर त्यसमा नै खास केही गर्न सकेका छैनौँ । कृषि र पर्यटनसँग जोडेर आयात घटाउदै यहीँ उत्पादन बढाउनुको विकल्प छैन । अर्को कुरा भनेको बिजुलीको गुणस्तर सुधार्दै सस्तो बनाउन सकेमात्र हाम्रो उत्पादनले आयातित बस्तु प्रतिस्थापन परि विदेशमा पनि प्रतिस्पर्धा गर्ने अवसर पाउने थियो । हाम्रो प्रतिस्पर्धि लाभ के हो, त्यो बुझ्नु जरुरी छ । लागत घटाउदा धेरै उद्योग स्थपना हुने थियो । लागत बृद्धिका कारण धेरै उद्योगहरु सफल हुन सकेका छैनन् ।

तपाईँको बिचारमा चुनौतीका बिच सफल उद्योगी कसरी बन्ने ?
यदी उद्योगी बन्ने हो भने चुनौती लिन तयार हुनुपर्छ । जोखिम बहन गर्न सक्नुपर्छ । चुनौतीले मात्र सफल हुने अबस्था बन्दैन त्यसको लागि केही धैर्यता राख्न सक्ने क्षमता हुनुपर्छ । जब तपाईं कुनै उद्योग संचालन गर्ने तयारी गर्दै हुनुहुन्छ भने त्यसका लागि तपाईँको योजनाले भर पर्छ । कतिपय अवस्थामा तपाईंले बनाएका योजना सफल हुन पनि सक्छन्, कुनै कारण असफल हुन पनि सक्लन वा पुर्ण नहोलान् त्यस्तो अवस्थामा तपाईलाई धैर्यताको खाँचो देखिने हो । आउट अफ त बक्स योजना बनाउने र नयाँ केही गरौँ भन्ने सोच राख्ने र एक एक खुड्किलो चढेर अगाडि बड्छु भन्ने सोच राख्यो भने सफल हुन सहज हुन्छ । खुड्किला बिर्सिएर एक्कै पटक छलाङ मार्छु भन्दा कहिले काहीँ दुर्घटना हुनसक्ने भएकोले सचेत भएर अघि बढ्न मेरो आग्रह छ ।

यहाँ कमेन्ट गर्नुहोस्