०६ चैत्र २०८०, मंगलबार

सुकुना माबिले २४ शिक्षकलाई ल्यापटप बाँड्यो

संवाददाता

सुकुना माध्यामिक बिद्यालयमा ल्यापटप पाएका शिक्षकहरु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा रहेको सुकुना माध्यमिक विद्यालयले प्रबिधिमैत्री अभियान शुरु गरेको छ। प्रविधियुक्त सिकाइलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षकहरूलाई ल्यपटप वितरण गरेको छ । २४ थान नयाँ भर्सनका ल्यापटप २४ जना शिक्षकहरूलाई पहिलो चरणमा वितरण गरिएको हो । आर्थिक बर्षमा २०७७/०७८को नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको १९ लाख ८० हजार मुल्यमा बराबरको ल्यापटप बितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयलाई डिजिटलमैत्री बनाउन शिक्षकहरूलाई प्रोत्साहन स्वरुप पहिलो चरणमा २४ थान र अब चाँडै दोस्रो चरणमा थप २४ जना शिक्षकलाई वितरण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर नेउपानेले बताए ।
सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेलले बितरण गरिएका ल्यापटपको प्रत्यक्ष फाइदा विद्यालयका बालबालिकाको अध्ययनमा पुग्ने विश्वास ब्यक्त गरे । सामुदायिक विद्यालय प्रतिको अभिभावकहरूको विश्वास अझ प्रगाढ बनाउन बालबालिकाहरूको डिजिटल अभिरूचीलाई बुझेर विद्यालयले चालेको शिक्षण सिकाइमा डिजिटल प्रविधिको प्रयोगले उल्लेखनिय योगदान पुग्ने बताए ।
विद्यालयले मापदण्ड बनाएर शिक्षकहरूसँग करार सम्झ्यौतागरी ल्यापटप बाँडिएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं १० का अध्यक्ष राजेन्द्र थापा, शिक्षक बिक्रम खड्काले विद्यालयको यो कदमले शिक्षकहरूमा अझ उत्साह थपिने बताए ।
कोरोनाको कारण पठनपाठनमा अवरुद्धहुँदा प्रभावकारी बनेको भर्च्युअल माध्यमको बैकल्पिक सिकाइले सुकुना माविलाई अझ विश्वासिलो बनाएको छ । हाल यस विद्यालयमा विद्यार्थीको रोजाइमा अभिवृद्धि भएकै कारण ४ हजार २ सय बिद्यार्थी अध्यायनरत रहेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।
विद्यालयका शिक्षक हिक्मत बस्नेतले बिद्यार्थीको सिकाई सहजीकरणलाई सजिलो बनाउनको लागि ल्यापटपको प्रयोग हुने बताए । सरकारको प्रबिधिमैत्री अभियानमा यो एउटा महत्वपुर्ण थालनी भएको उनको भनाईछ ।

 

यहाँ कमेन्ट गर्नुहोस्