०६ बैशाख २०८१, बिहिबार

ब्यवसायीका समस्या समाधान गर्न विराटनगरमा विजनेश क्लिनिक सञ्चालनमा

संवाददाता

विराटनगर । विराटनगरमा व्यवसायका समस्याहरुको समाधान गर्न सिआइएम बिजनेश क्लिनिक कार्यान्वयनमा आएको छ । उद्योग संगठन मोरङले उद्योग ब्यवसायको समस्या समाधान गर्नको लागि गतसाता काठमाडौमा भएको छलफल पछि बिजनेश क्लिनिक संचालनमा आएको हो ।
गत साता संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष बिजनेश क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरुका १०४ वटा विभिन्न क्षेत्र तथा बिषयसंग सम्बन्धीत समस्याहरु प्रस्तुत गरेसगै क्लिनिक कार्यान्वयनमा आएको हो । क्लिनिकमा उद्योग प्रतिष्ठानका समस्या समाधानको सहजिकरणका लागी उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्नुका साथै हरेक तिन तिन महिनामा संगठन र मन्त्रालय बिच समस्या समाधानमा सहजिकरण बैठक तथा समिक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरु संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमणगर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यसरी संकलित समस्याहरुलाई कार्यान्वयन तहमा लग्ने, नीतिगत तहसँग छलफल गर्ने, उद्योग विशेषका समस्याहरु उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकारका बिषयहरुको बर्गिकरण गरेर समाधान निकालिने अध्यक्ष प्याकुरेलले बताए । समस्याको पहिचान गर्ने र समाधानको लागि सम्बन्धित निकायसँग पहल गर्न क्लिनिकले काम गर्ने छ, प्याकुरेलले भने, उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसंगै अब उद्योगी व्यवसायीहरुका समस्याहरुको एकै स्थानबाट समाधानका लागी पहल र प्रयत्नगर्न सहज हुनेछ ।’
संगठनले सञ्चालनमा ल्याएको बिजनेश क्लिनिकमा आन्तरिक र बाह्य गरि दुईवटा कम्पोनेन्ट रहेका छन । आन्तरिक कम्पोनेन्ट अन्तरगत सम्बन्धी उद्योग वा व्यवसायको आन्तरिक क्षमता खोजी डायग्नोसिस गर्न बिजनेश हेल्थ चेकअपको सेवा उपलब्ध रहेको तथा बाह्य कम्पोनेन्ट अन्तरगत उद्योग व्यवसायका समस्याहरुको संकलन तथा पहिचानका लागी उद्योगहरुको भ्रमण गर्ने रहेको छ । समस्याको वर्गिकरण गर्ने, नीति बिश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको फोकल बिन्दु मार्फत सहजिकरण गर्ने जस्ता बिषयहरु समेटिएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले बताए ।
संगठनले विजनेश क्लिनिकका सम्बन्धमा संघिय सरकारका अर्थ सचिव समक्ष गत असोज १५ गते बैठक गरि क्लिनिकको शुभारम्भ गरेको थियो भने क्रमशः प्रदेश र स्थानीय सरकारहरुसंग समेत आर्थिक तथा औद्योगिक विकासका महत्वपूर्ण आयामका रुपमा रहेका कार्यक्रमहरुको दिगो एवं सफलतापूर्वक कायान्वयन गर्न सहकार्य गर्दै क्लिनिक सञ्चालन गरिने संगठनले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्