०८ बैशाख २०८१, शनिबार

कोभिडकोे तेश्रो भेरियन्ट : प्रदेश सरकार बल्ल छलफल गर्दै

संवाददाता

विराटनगर । प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरियन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरू बीच छलफल भएको हो । छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरिअन्टका रुपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । उनले खतराको घण्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिए । ‘हामी सजग हुनुपर्ने अवस्था आएको छ’ मुख्यमन्त्री राईले भने, ‘नयाँ भेरियन्ट देखा परेको अवस्थामा सरकारी संयन्त्रमात्र होइन सबै प्रकारका संयन्त्र परिचालित हुनुपर्छ ।’ सामाजिक विकास मन्त्री जयराम यादवले कोभिडविरुद्ध मन्त्रालयबाट भए गरेका कामका बारे जानकारी गराएका थिए । उनले नयाँ भेरियन्ट फैलन नदिन भीडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

मन्त्री यादवले त्यसका लागि प्रदेशस्तरीय राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिडविरुद्धको अभियानमा महानगरपालिका प्रदेश सरकार सँगै रहने प्रतिबद्धता जनाए । प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले कोभिडसँग सम्बन्धित सूचना प्रणाली बलियो बनाउनुपर्ने, सही सूचनाले नागरिक आश्वस्त हुने भएकाले चुस्त सूचना प्रणालीको विकास गर्नु पर्ने बताए। छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले आ–आफ्ना मन्त्रालयबाट भएका काम र प्रयासका बारे जानकारी गराए । सुरक्षा निकायका तर्फबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी., शसस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना इटहरी बाहिनीका सहायक रथी प्रकाश देउजा सहित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. विनोदप्रसाद गुप्ता लगायत सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्