१६ चैत्र २०८०, शुक्रबार

जोगवनीको मिरगञ्ज पुल भासिएको भन्दै भारतले रोक्यो मालबहाक सवारी आवत जावत

संवाददाता

जोगवनीको मिरगञ्ज पुल

विराटनगर । जोगवनीको मिरगञ्ज पुल धसिएको भन्दै भारतीय अधिकारीहरुले मालबहाक सवारी साधनआउजाउमा रोक लगाएको छ । करिब डेढफिट पुल भासिएको भन्दै स्थानीयले भारतीय सुरक्षा अधिकारीहरुलाई जानकारी गराएपछि गएको टोलीले पुल भासिएको निश्कर्ष निकाल्दै मालबहाक सवारी साधन आउजाउमा रोक लगाएको हो । फारबिसगञ्जको एसडिओ सुरेन्द्रकुमार अल्बेला सहितको टोलीले गरेको अनुगमन पछि मालबहाक सवारी साधन आउजाउमा रोक लगाएको छ ।
लोड क्षमताभन्दा बढी भार बोक्ने सवारी साधन आवतजावतका कारण परमान खोलाको मिरगञ्ज पुलमा क्षति पुगेको अल्बेलाले बताए । तत्कालका लागि ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ, उनले भने, पुलको अबस्था हेर्दा एक डेढ फिटसम्म भासिएको देखिएपछि मर्मत नहुँदासम्म मालबहाक सवारी साधन संचालन गर्न रोक लगाएको हो ।
प्रशासनिक कर्मचारी बिहीबार नेपाल भारत जोड्ने परमान खोलामा मिरगञ्जमा रहेको जीर्ण पुलको हालको अवस्थाको अवलोकन गरेकोे थियो । निरीक्षणपछि पुलको उत्तरी भागमा ब्यारिकेड लगाएर साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको स्थानीय पत्रकार राजेशकुमार बर्माले मकालुखबरलाई जानकारी दिए ।
पुलको हालको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको र पुलको अवस्थाबारे अध्ययन भइरहेको छ । प्राविधिक टोलीको प्रतिवेदनका आधारमा छिट्टै थप प्रक्रिया अघि बढ्ने जनाईएको छ। पुलमा थप क्षति नहोस् भनेर ठूला सवारी साधनलाई रोक लगाइएको छ, साना सवारी साधनलाई मात्र आवतजावत गर्न दिइएको छ ।
यस अघि पनि सो पुल मर्मतको नाममा नेपाल तर्फ आउने मालबहाक सवारी साधन संचालनमा रोक लगाउँदा नेपाली ब्यवसायीले सास्ती पाउँदै आएका थिए । नेपाली ब्यवसायिका अनुसार पहिलाको जस्तो समस्या फेरी दोहोरिएको बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ लगायतका ब्यवसायी संघ संस्थाले यस अघि देखि नै मिरगञ्जको पुल मर्मत गर्नुपर्ने वा बिकल्पको नयाँ पुल निर्माण गर्न दवाव दिँदै आएको भएपनि नेपाल सरकारको तर्फबाट कुनै पहल भएको थिएन । विराटनगर प्रबेश गर्ने एक मात्र पुल मिरगञ्जको पुल भएको कारण त्यो पुलबाट मालबहाक सवारी आउन नदिँदाको अबस्थामा भिमपुर हुँदै सुनसरीको भान्टाबारीस्थित छोटी भन्सारबाट मालबहाक सवारी नेपाल प्रबेश गर्नु पर्र्ने बाध्यता आउने नेपाली ब्यापारीको भनाई छ।

यहाँ कमेन्ट गर्नुहोस्