०८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा शिक्षाको बजेट २० प्रतिशत बनाउन माग

संवाददाता

विराटनगर । प्रदेश १ मा शिक्षा क्षेत्र उपेक्षित भएको भन्दै शिक्षकहरुले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई शिक्षा क्षेत्रको बजेट २० प्रतिशत पु¥याउन माग गरेको हो ।
संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ बुँदे माग सहित मुख्यमन्त्रीलाई शिक्षालाई उपेक्षा नगर्न आग्रह गरेको हो । शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीको भन्दा शिक्षकको तलब १० प्रतिशत बढी हुनुपर्ने, प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने लगायतका माग उनिहरुको छ ।
उनीहरुले प्रदेश १ को शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने, विद्यालय पढ्ने बालबालिकालाई खोपको सुनिश्चिता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशमा न्यूनतम तलवमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्न पनि माग गरिएको छ । उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने पनि माग गरिएको बस्नेतले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्