१४ बैशाख २०८१, शुक्रबार

विराटनगरका खोप केन्द्रमै कोरोना सर्ने खतरा !

भीड व्यवस्थापन गर्न हम्मेहम्मे

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ५ को खोपकेन्द्रमा खोप लगाउनेको निक्कै भीड छ । बिहीबार सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । प्रशासनले २५ जनाभन्दा बढी सहभागि हुन नपाउँने भन्दै आएको भएपनि खोप केन्द्रहरुमा सयौँको लाईन र भीड देखिन्थ्यो । भीडको कारण थप कोरोना सर्ने त्रासका बीच पनि खोप लगाउन आएको विराटनगर ५ की अञ्जु कामतले बताइन् । ‘घरबाट हिँड्दा भीड छैन होला भन्ने लागेको थियो’, उनले भनिन्, ‘खोप केन्द्रमा देखिएको भीडले नभएको कोरोना पन सर्ने त्रास भयो ।’ कोरोनाको रातमा दुईगुणा दिनमा चारगुणाको दरले बढ्दै गएको छ । संक्रमित नभएको घर छैन । बाहिर निस्कियो कहाँबाट कोभिडको संक्रमण हुने हो भन्ने त्रास हुँदा हुँदै पनि संक्रमण सार्ने माध्याम खोप कार्यक्रम बनेको छ । विराटनगरका मोमम्मद समिम प्रशासनले कडाइ नगर्दा भीड बढेको बताउँछन् ।जुनसुकै कामको लागि भीडमा लाईन लाग्नु पर्ने बाध्यताका कारण कोभिडको संक्रमण बढेको स्थानीय बिनोद कामतको भनाइछ । सरकारले सबैतिर खोपकार्ड अनिवार्य भन्ने तर नागरिकले खोप नपाउने समस्याले गर्दा दुःख पाएको उनीहरुको गुनासो छ । सरकारले खोप कार्ड अनिवार्य भनेपछि पनि खोप लगाउन जानेको संख्या बढेको हो । खोप कार्ड अनिवार्य भनिएपछि नागरिकमा एकखालको त्रास बढेको छ भने खोप लगाउनको लागि हिच्किचाउनेहरु पनि खोप खोज्न थालेका छन् । मोहम्मद समिम भन्छन्, ‘पहिला खोप नलगाउँदा पनि हुन्छ भन्ने लागेको थियो अहिले खोप कार्ड अनिवार्य भनेपछि लागाउन आउनु परेको हो ।’

विराटनगर महानगरपालिकामा संक्रमितको संख्या बढ्दो छ भने खोप अभियानलाई पनि तिब्र पारिएको महानगरको दाबी छ । भीड व्यवस्थापन गर्नका लागि सबै वडामा खोप पुर्‍याईएको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको भनाइछ । प्रदेश १ मा संक्रमितको संख्या मध्ये करिब आधा विराटनगर महानगरपालिका भित्रका संक्रमति छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकले हरेक दिन कोरोना संक्रमणको दर उच्च हुँदै गएको देखाउँछ । माघ १ गते विराटनगरमा ११३ जना संक्रमित रहेकोमा २ गते १३७ जना संक्रमित थपिए, ३ गते संक्रमितको संख्या बढेर १९१ पुग्यो । माघ ४ गते विराटनगरमा मात्रै संक्रमितको संख्या एकैदिन ३८६ जना थपिए, ५ गते विराटनगरमा २४० जनामा संक्रमित भएका थिए । बिहीबारको तथ्यांक अनुसार विराटनगरमा ३२० जना संक्रमित भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ ।

कोरोनाको संक्रमण दर विराटनगरमा दिनप्रति दिन बढिरहेको छ । दैनिक ३ सयको हाराहारीमा महानगरमा संक्रमणदर छ । नियमनकारी निकायहरु भने मौन बसिदिँदा भीडभाड नियन्त्रण हुन सकेको छैन । यही कोभिडको महामारीको बीचमा खोप लगाउन भनिएको छ । संक्रमणले गति नलिँदासम्म चुपचाप जस्तै देखिएका सरकारहरु कोभिडको संक्रमण बढ्दै जादा खोप अभियान चलाउँदै छन् । विराटनगरमा आफ्नो वडामा पालो नपाएपछि अर्को वडामा गएर खोप लगाउनेको पनि उस्तै भिड देखिएको छ । खोप लगाउन ६ घण्टासम्म कुर्नु परेको स्थानीयको गुनासो छ।

यहाँ कमेन्ट गर्नुहोस्