१३ बैशाख २०८१, बिहिबार

करिब ३० मिटरको दूरीमा फरक फरक दुई शब

संवाददाता

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ६ स्थित उखुबारीमा दुई शव भेटिएका छन् । उखुबारी भित्रको करिब ३० मिटरको दूरीमा फरक फरक स्थानमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई पुरुषको शव फेला परेको हो ।

बुधबार दिउँसो उखु काट्न गएका किसानले बारीमा खनेको जस्तो देखेपछि बारी धनीलाई फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले बुधबार साँझ  नै एक जनाको शव निकालेको थियो भने बिहीबार दिउँसो अर्को शव निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले बिहीबार करिब ३०/३५ वर्षको पुरुषको शव खाल्डोबाट उत्खनन गरेको थियो भने बिहीबार अर्को खाल्डोबाट अन्दाजी ४५/५० वर्षको पुरुषको शव निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले घटनाको बारेमा अनुसन्धान गर्दै जाँदा बिहीबार निकालिएको शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको खुलेको जानकारी दिए ।

दोस्रो शव भएको स्थानमा बाहिरैबाट शवको कपडा र कपाल देखिएको प्रहरीको दाबी छ । बुधबार राति खाल्डोबाट निकालिएको शवको अझै पहिचान खुलेको छैन । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  शवलाई चाँडो सडाउन नुन हालेको समेत पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  दुवै शवको घाँटीमा डोरीले बाँधेको र बुधबार भेटिएको शवको हात बाँधिएको अवस्थामा फेला परेको एसपी जिसीले बताए । एक जनाको पहिचान भएर अनुसन्धानको लागि सजिलो भए पनि अर्को शवको बारेमा अनुसन्धान अघि बढाउन अप्ठ्यारो भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्