१५ बैशाख २०८१, शनिबार

मन्त्रालय फुटाए विराटनगरमा मन्त्रीका गाडीहरु चल्न नदिने एमाले भातृ संगठनको चेतावनी

संवाददाता

विराटनगर । प्रदेश १ मा गठबन्धनको सरकारले मन्त्रालयहरु फुटाउन लागेको भन्दै नेकपा एमालेका बिभिन्न २३ वटा भातृ संगठनले बिरोध जनाएको छ । प्रदेश १ का ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउन खोजेको भन्दै मन्त्रालय फुटाउने निर्णय फिर्ता नदिए मन्त्रीका गाडीहरु चल्न नदिने चेतावनी दिएको हो। विराटनगरमा मंगलवार सडक पत्रकार सम्मेलन गर्दै एमाले सम्वद्ध भातृ संगठनहरुले मन्त्रालय फुटाउने निर्णय फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा युवा संघ र अनेरास्ववियूका नेताहरुले मन्त्रालय फुटाउने निर्णय फिर्ता नगरे मन्त्रीहरुका गाडीलाई जहाँसुकै पनि अवरोध गरिने बताए । जनताको करको दुरुपयोग गरेर सत्ता टिकाउन खोजेको भन्दै मुख्यमन्त्री राजेन्द्र राईको आलोचना गरेका छन् । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालले प्रदेश राजधानीमा मन्त्रीहरुका गाडी गुड्न नदिइने बताए ।
युवा संघका नेता मुकेश बुढाथोकीले राज्यलाई तिरेको कर दुरुपयोग गर्ने उदेश्यले मन्त्रालयहरु फुटाउन लागिएकोले मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा देखिए अवरोध गर्ने चेतावनी दिए । गाडीमा झण्डा हल्लाएर जागिरमात्रै खान खोजेको भन्दै एमालेका जनवर्गीय संगठनका नेताहरुले मन्त्रीहरुलाई सार्बजनिक कार्यक्रम रोक्ने चेतावनी दिएका हुन् ।
उनीहरुले संयूक्त विज्ञप्ति जारी गर्दै सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय गलत भएको बताएका छन् । तत्काल स्थानीय तहको निर्वाचनको घोषणा, मुल्यबृद्धि र कालोबजारी नियन्त्रण, नेपाली भूमीमा भारतीय हस्तक्षेप रोक्नु पर्ने, किसानलाई मलखादको व्यवस्था, आर्थिक संकटको अन्त्य र नागरिकहरुलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न समेत संयुक्त माग गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्