०७ बैशाख २०८१, शुक्रबार

अमेजनमाथि युरोपमा १ खर्ब जरिवाना

Testing

१७ साउन, काठमाडौं । गोपनीयता कानूनको उल्लंघन गरेको भन्दै युरोपियन युनियनले इ-कमर्श कम्पनी अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना गरेको छ ।

विज्ञापनसँग सम्बन्धित विषयमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको उल्लंघन गरेको ठहर गर्दै युरोपियन युनियन अन्तर्गतको नियामक निकायले अमेजनमाथि ७४ करोड ६० लाख युरो अर्थात् १ खर्ब रुपैयाँ भन्दा धेरै रकम जरिवाना गरेको हो ।
इयूको उक्त निर्णय गत जुलाई १६ मै भएको भएपनि शुक्रबार मात्र सार्वजनिक गरिएको हो । इयूमा उक्त कानून लागू भएयता अमेजनमाथिको यो जरिवाना हालसम्मकै ठूलो हो । यसअघि सन् २०१९ मा गुगलमाथि ५ करोड युरो जरिवाना गरिएको थियो ।

अधिकारीहरुका अनुसार व्यक्तिगत डाटाको प्रशोधनमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको पालना गरेको छैन । अमेजनले भने आफूमाथि इयूले लगाएको जरिवाना तर्कसंगत नरहेको र यस निर्णयका विरुद्धमा न्यायिक उपचार खोज्ने जनाएको छ ।

अमेजनले भनेको छ, ‘प्रयोगकर्ताहरुलाई हामीले सम्बन्धित विज्ञापनहरु कसरी देखाउँछौँ भन्ने विषयलाई लिएर गरिएको यस्तो निर्णय युरोपेली गोपनियता कानूनको अवस्तुपरक तथा अपरीक्षित व्याख्याको आधारमा गरिएको छ र जरिवानाको निर्णय युक्तिसँगत छैन ।’

प्रयोगकर्ताका कुनैपनि व्यक्तिजन जानकारीहरु सार्वजनिक नगरिएको पनि अमेजनले दाबी गरेको छ । उसले भनेको छ, ‘हाम्रा ग्राहकहरुको डाटाको सुरक्षा तथा उनीहरुको विश्वास कायम गर्नु हाम्रो प्राथमिकताको विषय हो । कुनैपनि प्रयोगकर्ताको डाटा चुहिएको वा तेश्रो पक्षसँग खुलासा गरिएको छैन । यो विवादरहित तथ्य हो ।’

लक्जेम्बर्गस्थित डाटा नियामक निकायले अमेजनमाथिको उक्त जरिवानाको निर्णय गरेको हो । स्मरण रहोस् लक्जेम्बर्गमै अमेजनको युरोपस्थित मुख्यालय रहेको छ ।

अमेजनमाथि इयूले गरेको पछिल्लो कारवाहीलाई ठूला प्रविधि कम्पनीहरुप्रति युरोपेली नियामकहरुको कठोर कदमको श्रृंखलाको रुपमा लिइएको छ । युरोपेली युनियन तथा बेलायतले पछिल्लो समयमा अमेजन, एप्पल, फेसबुक तथा गुगल लगायतका कम्पनीहरुलाई प्रतिस्पर्धालाई संकुचित पारेको र ग्राहकको गोपनियताको दुरुपयोग गरेको आरोपमा उनीहरुको व्यवसायिक गतिविधिमा कडा नियमन तथा नियन्त्रण गर्न थालेका छन् ।

युरोपेली युनियनको उक्त गोपनियता कानून अनुसार उल्लंघनकर्ता कम्पनीलाई २ करोड युरोप वा कम्पनीको विश्वव्यापी आम्दानीको ४ प्रतिशत मध्ये जुन धेरै हुन्छ त्यति नै रकम सम्मको जरिवाना हुने प्रावधान रहेको छ ।

सीएनएनबाट

यहाँ कमेन्ट गर्नुहोस्