१५ चैत्र २०८०, बिहिबार

प्रदेश १ सरकार प्रदेश नाम बारेमा सर्वदलीय बैठक बोलाउँदै

संवाददाता

विराटनगर । प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो । प्रदेश नं.१ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । समितिको नेतृत्व गरेका यादव र मुख्यमन्त्री राजेन्द्रकुमार राई सहितको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउने बारेमा छलफल गर्न लागेको हो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए । बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतीले प्रदेश नं. १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको हालका स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए । गठबन्धन भित्रका दलहरुको सहमतीबाट प्रदेशको नाम ल्याउने तयारी भएको उनले बताए । मन्त्री यादवले प्रदेश नं. १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले उल्ल्लेख गरे ।

यहाँ कमेन्ट गर्नुहोस्