०८ बैशाख २०८१, शनिबार

१० लाख राशीको बुढासुब्बा गोल्डकप चैत २६ गतेदेखि हुने

संवाददाता

विराटनगर । विराटनगर । मोफसलकै ठुलो अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत अन्तिममा हुने भएको छ। धरान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिता बारे जानकारी गराएको हो । आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको आयोजक धरान फुटवल क्लबले जनाएको छ । कोरोना महामारीको कारण बिगत बर्षदेखि नै हुन नसकेको २३ औं संस्करण यो बर्ष चैत अन्त्यमा गर्ने तयारी भएको क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगितामा आयोजक क्लबसहित ८ टिम सहभागी हुनेछन् । प्रतियोगितामा काठमाण्डौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम सहित भारतका दुई टिम र मोफसलको अन्य २ उत्कृष्ट क्लबहरु सहभागी हुने राईले बताए । विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् । उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउने अध्यक्ष राईले जानकारी दिए ।
प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान छ ।

यहाँ कमेन्ट गर्नुहोस्