१४ बैशाख २०८१, शुक्रबार

जेष्ठ नागरिकलाई घरमै खोप

रासस

बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले प्रस्तुत गरेको छ । अहिले नगरपालिकाले जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप घरघरमा पुगेर लगाएको छ ।

नमोबुद्ध-८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने, ‘म खुशी छु । नगरपालिकालाई धन्यवाद ।’ उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए ।

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो । नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ ।

नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ । ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान चलाइरहेका छौँ,’ उनले भने । नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रास लगायतका वितरण गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्