१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा ‘गल्र्स अन ह्विल’ प्रतियोगिता हुने

संवाददाता

विराटनगर । नारी दिवसको अवसर पारेर ‘प्याडिलक्स गल्र्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । राउन्ट टेबल नेपालको आयोजनामा विराटनगरमा फागुन २४ गते प्याडिलक्स गल्र्स अन ह्विल’ प्रतियोगिता गरिने भएको हो ।
आयोजक राउन्ट टेबल नेपालले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको हुन लागेको प्याडिलक्स गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिनपाउने जानकारी दिएको हो । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ७५ वटा स्कुटरले भाग लिन सक्ने राउन्ट टेबल नेपालका अध्यक्ष भवेश राठीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुईले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ, उनले भने, उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्छ, हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ ।’ उनका अनुसार यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ ।
प्रतियोगिहरुले खेलमा जैन भवनबाट शुरु भई सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताका सहसंयोजक अतुल सिँघानियाले बताए । प्रतियोगिताको बिजेता हुने प्रतियोगिले एमआइको ४० इन्चको टेलिभिजनलगायतका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि उपहरहरु रहेको आयोजकले जनाएको छ । कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङलगायतका स्टलहरु पनि रहेछ ।
पत्रकार सम्मेलनमा बोल्दै मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले महिलाहरुमा भएको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिहरुले ठूलो भूमिका खेल्ने बताए । राउन्ट टेबल विगत ३२ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको क्रियाशील संस्था हो । उक्त प्रतियोगिताबाट संकलन भएको रकम पनि सामाजिक कार्यमा खर्चिने आयोजकको भनाई छ । नेको इन्सुरेन्ससँगको सहकार्यमा हुन लागेको यस प्रतियोगिताको मुख्य प्रयोजक सेनेटरी प्याड प्याडिलक्स रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्