०४ बैशाख २०८१, मंगलबार

सुनसरीमा प्याब्सन बस्ती निर्माण, डेढ करोड खर्च

संवाददाता

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)ले सुनसरीको रामधुनीमा नमुना बस्ती निर्माण गरेको छ। राधमुनी नगरपालिका वडा नम्बर ८ बानडाँडामा निर्माण गरेको प्याब्सन नमुना बस्ति आईतबार स्थानीयलाई हस्तान्तरण गरिएको हो । २५ परिवारका लागि निर्माण गरिएका २५ वटा घर स्थानीय सुकुम्वासी परिवारलाई हस्तान्तरण गरिएको हो । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले रामधुनी ८ मा नै बस्दै आएका २८ वर्षीय रञ्जित चौधरीलाई नमुना बस्तीको हस्तान्तरण गरेर उद्घाटन गरे । बाँकी रहेका २४ घर हस्तान्तरणका लागि प्याब्सनले रामधुनी नगरपालिकालाई नै जिम्मा लगाएको छ । वास्तविक लक्षित वर्गलाई नै लाभ पुगोस भनेर स्थानीय सरकारलाई चाबी जिम्मा लगाइएको अध्यक्ष पुरीले बताए । प्याब्सन अध्यक्ष पुरीले रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीलाई बस्तीको चाबी हस्तान्तरण गरेका हुन् ।
२०७४ सालमा आएको वाढिपिडितका लागि भनेर बस्ति निर्माण जुटेपनि विभिन्न कारणले समयमा निर्माण सम्पन्न हुन नसकेको स्वीकार गर्दै अध्यक्ष पुरीले ढिलै भएपनि योजना अनुसारको काम पुरा गरेर हस्तान्तरण गरिएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै प्याब्सनले नमुना बस्ति निर्माण सम्पन्न गरेको अध्यक्ष पुरीले जानकारी दिए ।
प्याब्सनले दिएको यो जिम्मेवारीलाई नगरपालिकाले न्याय गर्दै लक्षित वर्गलाई नै लाभ पुग्ने गरि वितरण गरिने प्रतिबद्धता जनाए ।
रामधुनी ८ का वडाअध्यक्ष रुद्रबहादुर बस्नेतले प्याब्सनले निर्वाह गरेको यो भूमिकाले यस क्षेत्रका बाढीपिडितलाई ठूलो राहत पुग्ने विश्वास ब्यक्त गरे । पालिकाले उपलब्ध गराएको जग्गामा स्थानीय एक व्यक्तिले दाबी गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेपछि निर्माणको काम दुई वर्ष रोकिएको उनले सुनाए । ‘मुद्दा पालिकाले जितेपछि पुनः निर्माणको काम आरम्भ भएको थियो, उनले भने, २०७४ सालमा आएको वाढि पहिरोवाट बिस्थापित भई घरबार बिहिन भएकाहरुको परिवारलाई लक्षित गर्दै बस्ति निर्माणको काम थालिएको थियो ।’
रामधुनी नगरपालिकाले उपलब्ध गराएको जग्गामा बस्ति निर्माण गरिएको हो । उक्त बस्तिको २०७६ साल बैशाख २९ मा तात्कालिन शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बस्तीको शिलान्यास गरेका थिए । तीन कोठा र शौचालय सहितको पक्की घरमा छानो भने टिनको लगाइएको छ । भित्रबाट फल्स सिलिङ समेत लगाइएको उक्त घरमा चार जनाको परिवारका लागि उपयुक्त हुने पालिकाले जनाएको छ ।
प्याब्सनले डेढ करोडको लागतमा भौतिक संरचना निर्माण गरेको हो भने जग्गा दिने र माटो सम्याउने काम भने नगरपालिकाले गरेको हो । हस्तान्तरण गरिएको बस्ति निर्माणको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको र बाँकी केहि काम पनि केहिदिन भित्रै सम्पन्न हुने प्याब्सनले जनाएको छ । प्याब्सनको महाधिबेशन यहि साता तय भएकाले अलि हतारमा बस्ति हस्तान्तरण गर्नुपरेको अध्यक्ष पुरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्