१५ बैशाख २०८१, शनिबार

विराटनगरमा ट्रेड एक्स्पो आजदेखि

संवाददाता

विराटनगर । विराटनगरमा कोभिड पछिको पहिलो ट्रेड एक्स्पो आजदेखि शुरु हुँदैछ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगरको शंकरपुरमा एक्स्पो आयोजना गर्ने बारेमा सबै तयारी पुरा भएकोले आजैदेखि शुरु हुँदैछ ।
मोरङ व्यापार संघको आयोजनामा हुने एक्स्पोको उद्घाटनका लागि संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आउने संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । यस बर्षको एक्स्पो विगतका वर्षहरुभन्दा फरक हुने आयोजकको दाबी छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका उत्पादनहरु सहित लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको आकर्षण राििखएको आयोजकको भनाई छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेल मन पराउनेहरुका लागि जीप लाइन, रिभर्स बन्जी र जिप साइक्लिनिङ्गको पनि ब्यवस्था गरिएको रिजाल बताउँछन् । एक्स्पोमा कृषि, पर्यटन, सुचना प्रविद्यि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ।
स्वदेशी र विदेशी उत्पादन समेटने गरि कुल २७० स्टलहरु रहने एक्स्पो २ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने व्यापार संघले जनाएको छ । संघका अनुसार एक्स्पोबाट ४० करोडको बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष रिजालको छ । एक्स्पोको उद्घाटन गर्न संघीय सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आउने आयोजकले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्