१५ बैशाख २०८१, शनिबार

विराटनगरमा सकियो दुईदिने वाङ्मय सङ्गोष्ठी

संवाददाता

विराटनगर । नेपाल प्रज्ञा–प्रतिष्ठान र विराट साहित्य संगमको सहकार्यमा विराटनगरमा दुईदिने प्रदेशस्तरीय वृहद् वाङ्मय संगोष्ठी सम्पन्न भएको छ । संगोष्ठीमा प्रदेशका विभिन्न जिल्लाका स्रष्टाहरुको जमघट भएको थियो । प्रदेश–१ को भाषा, साहित्य, कला र संस्कृतिको पहिचान गरी विकास गर्ने उद्देश्यले आयोजित दुईदिने वाङ्मय सगोष्ठीमा विभिन्न व्यक्तिहरुले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।
समारोहमा साहित्यकार दधिराज सुवेदीले ‘प्रदेश नम्बर १ मा नेपाली समालोचनाको स्थिति’, रामरिझन यादव र शिवनारायण पण्डित ‘सिंगल’ले ‘मैथिल जीवन–दर्शन’, प्रा.डा. टेकबहादुर श्रेष्ठले ‘नेपालको इतिहासका परिप्रेक्ष्यमा प्रदेश नम्बर १ को वैशिष्ट्य’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी सहायक प्राध्यापक मधुराज केरुङले ‘किरात जनजीवन र लोकसाहित्य’, डा. तारामणि राईले ‘प्रदेश–१ मा बोलिने मातृभाषाको अवस्था’ र प्रा.डा. सोमप्रसाद खतिवडाले ‘कोशी प्रस्रवण क्षेत्रका सांस्कृतिक सम्पदा’ विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि कवि एवं पत्रकार मीनकुमार नवोदित, समालोचक हरिप्रसाद बराल, भवानीप्रसाद पोखरेल, भीम कोइरालाले प्रतिवेदन तयार पारेका थिए ।
प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेको कार्यक्रमको पहिलो दिन शुक्रबार सांस्कृतिक नृत्य, नाटक मञ्चन, गजल वाचनलगायत प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन शनिबार विभिन्न व्यक्तिहरुबाट कार्यपत्र प्रस्तुतिका साथै प्रदेश विशेष कविगोष्ठी भएको छ । गोष्ठीमा १४ वटै जिल्लाका ६ दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना कविता वाचन गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङले साहित्यले विविध पक्षलाई उठाउने गरेको सुनाए । उनले साहित्यले समाजमा रहेको अन्तरविरोधका साथै समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विराटनगरमा भएको कार्यक्रमले प्रज्ञा प्रतिष्ठानलाई थप ऊर्जा प्राप्त भएको बताए । उनले कार्यक्रमबाट कुन क्षेत्रमा प्रतिष्ठानले कसरी काम गर्नुपर्छ भन्ने जानकारीसमेत प्राप्त भएको उल्लेख गरे । कुलपति उप्रेतीले भने, “प्रज्ञा प्रतिष्ठानले सबै भाषाभाषी, कला र संस्कृतिको संरक्षण सम्वद्र्धनमा काम गरिरहेको छ । विराटनगरको कार्यक्रमले थप काम गर्न ऊर्जा प्राप्त भएको छ ।” त्यसैगरी प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले प्रदेश–१ भाषा साहित्य र कलाको उर्बर क्षेत्र भएको टिप्पणी गरे ।
प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभागका प्रमुख डा. देवी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानले मुलुकका ७ वटै प्रदेशमा भाषा, साहित्य र संस्कृतिको संरक्षण सम्वद्र्धनमा काम गर्दै आएको जानकारी दिए । उनले प्रदेश–१ मा गरिएको कार्यक्रमले नेपाली साहित्य केन्द्रमुखी र राजनीतिकमुखी मात्रै नभएर साहित्यका विविध विधाहरु काठमाडौं उपत्यकाबाहिर पनि सशक्त भएर अगाडि आइरहेको प्रस्ट भएको बताए । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्याय, सामाजिकशास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्त, समालोचना निबन्ध विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेल, प्राज्ञ सभा सदस्य हरिचन्द्र लावती, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सल्लाहकार खेम नेपाली, सुभद्रा भट्टराईलगायतको सहभागिता रहेको थियो । समापनका अवसरमा विराट साहित्य संगमका संस्थापक अध्यक्ष बलराम पोखरेल, निवर्तमान अध्यक्ष ऋतुवर्ण पराजुली, कवि तथा कलाकार मातृप्रसाद संग्रौला लगायतलाई सम्मान गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्