१४ बैशाख २०८१, शुक्रबार

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विरगञ्ज र जनकपुर विजयी

संवाददाता

विराटनगर । विराटनगरमा जारी प्रथम टि २० मेयरकपको बुधबारको खेलमा विरगंज र जनकपुर बिजयी भएका छन् । बिराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट बिराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुरु भएको हो । पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले लगातार दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा समुह वि को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र विरगन्जविच समुह विजेताकोलागि विहिबार लिगको अन्तिम खेल हुनेछ ।
टस जितेर ब्याटिङ गरेको विरगन्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल बनायो । विरगन्जकालागि हसिम अन्सारीले ३७ रन बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आर्चायले २ विकेट लिए । १ सय २९ रनको लक्ष पाएको झापाले पुरै ओभर खेल्दा ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउन सक्यो ।
दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवा नगरपालिकालाई ७ विकेटले पराजित गरेको छ । जनकपुर एक खेल अगाबै सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रन बनायो । जनकपुरका साइमन राय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए । १ सय १२ रनको सामान्य लक्ष पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष भेट्टायो । इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १–१ विकेट लिए ।
प्रतियोगितामा आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरपालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउने छन् । विहिबारको पहिलो खेल जनकपुर र राजविराज तथा दोस्रो खेल आयोजक विराटनगर र विरगन्ज महानगरपालिका विच हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्