१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

संवाददाता

विराटनगर । विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ को सप्तरी राजविराज नगरपालिकाले जितेको छ । राजविराजले उपाधिसँगै नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ भने उप विजेता जनकपुर नगरपालिकाले नगद ५१ हजार र ट्रफिमा चित्त बुझायो । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको वैजनाथपुर खेल मैदानमा शनिवार भएको खेलमा प्रदेश २ कै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित राजविराजले उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिशेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन रायले ४ ओभरमा ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।
९८ रनको सामान्य लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सिमित भयो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र राष्ट्रिय टिमका महबुव आलम १ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरु दुवै जनाले नगद ५–५ हजार पुरस्कार हात पारे ।
विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका मेयर भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूर्व प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रिफि वितरण गरे ।
प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका सहित, इनरुवा नगरपालिका र मेचीनगर नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र राजविराज नगरपालिका सहभागि भएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्