१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको अनियमितता र भ्रष्टाचार रोक्न नागरिक निगरानी संस्थाको चासो

संवाददाता

बिराटनगरका मेयरलाई समग्र समस्याको ध्यानाकर्षण गराउँदै ‘भ्रष्टाचार विरूद्धको नागरिक निगरानी संस्था’

विराटनगर । ‘भ्रष्टाचार विरूद्धको नागरिक निगरानी संस्था’ले बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई भेटेर समग्र समस्याको बारेमा ध्यानाकर्षण गराएको छ। विराटनरको विकास, निर्माण र जन सरोकारका विभिन्न जल्दावल्दा मुद्धाहररूलाई लिएर मेयर पराजुलीलाई ज्ञापन पत्र बुझाएको हो । शिक्षा,स्वास्थ्यमा जनताले भोग्नु परेको विविध समस्याहरू, कोभिड विरूद्धको खोप अभियानमा देखिएका अनियमिता तथा अपारदर्शिता र नगरपालिकाले गर्ने निर्माण लगायत अन्य विविध कार्यमा पारदर्शिताको बारेमा ध्यानाकर्षण गराईएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
बिराटनगर महानगरपालिकाले दिने सेवामा देखिएका ढिलासुस्ति तथा जनमैत्री व्यवहारको अभाव भएको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ। त्यस्तै वीरेन्द्र सभागृह स्थित पार्कको सुसंचालन तथा व्यवस्थापन वारे पनि कार्यकारी अधिकृत तथा मेयरसंग घनिभूत छलफल भएको श्रेष्ठले जानकारी दिए ।

सन् २०१३देखि एसियाली विकास वैंकको ऋण सहयोगमा संचालित वहुउदेश्यीय वातावरणीय सुधार कार्यक्रम र त्यसलाई निरन्तरता दिँदै संचालित पुरक सहरी विकास परियोजनामा देखिएको समस्या र चुनौतीको बारेमा मेयरको ध्यानाकर्षण गराईएको थियो ।
विश्व वैंकको सहयोगमा संचालित कोशी राजमार्ग वारे जनताका संसय, चासो तथा अन्य विविध मुद्धामा पनि मेयर तथा प्रमुख प्रशासकीय अधिकृतलाई अवगत गराउने कार्य गरिएको उनले बताएका छन् । ‘विराटनगरको सम्वृद्धिसंग जोडिएको सहरी विकास र महानगर वरिपरिका बस्ती र त्याहँको सामाजिक, आर्थिक जीवन÷कृयाकलापसंग प्रत्यक्ष सरोकार रहेको रिङ रोड निर्माणमा देखा परेको ढिलासुस्तिको बारेमा पनि ध्यानाकर्षण गराईएको छ, उनले भने, स्थानिय सरकारको असंवेदनसिलताका बारेमा पनि छलफल भएको छ। ’
‘भ्रष्टाचार विरूद्धको नागरिक निगरानी संस्था’मा बिराटनगरमा रहेका विज्ञ समुह छ । बिराटनगरलाई कसरी राम्रो र नागरिकको जनअपेक्षा अनुसार बनाउन सकिन्छ भनेर यो समुहले निगरानी गर्ने र स्थानीय तहलाई सुझाव दिने काम गर्दै आएको छ। योे संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाएको नागरिक निगरानी संस्था हो । केही बर्ष अघि नै बनेको यो संस्थाको अध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा मोहन भण्डारी छन् । सचिवमा बसन्त अधिकारी, सहसचिव निर्मल तामाङ र कोषाध्यक्ष सीता शर्मा छन् । सदस्यमा उत्तम ढुंगेल, केशब गौतम, रामप्रसाद खतिवडा र मिना जोशी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्