१२ बैशाख २०८१, बुधबार

स्थानीय तह चुनाव : विराटनगरमा ७२४ जनाको मनोनयन दर्ता

संवाददाता

विराटनगर । सोमबार दिउँसो बिराटनगर महानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्दा गर्न आउनेहरु दिउँसो १ बजेसम्म थोरै संख्यामा थिए । दिउँसो करिब २ बजेपछि त्यो संख्या ह्वात्तै बढ्यो । १बजेसम्म सुनसान जस्तै देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर पत्रकारहरु गफिँदै थिए भने उम्मेदवारी दिन आउने स्वतन्त्रहरुको संख्या थोरै देखिन्थ्यो । ठुला दल भनिएका दलहरुले आईतबार मनोनयन दर्ता गरेनन् । सोमबार पनि बिहानभरी कोही आएनन् । दिउँसोको भिडले काम गर्ने कर्मचारीहरु अस्तब्यस्त अबस्थामा देखिन्थे । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले यस अघि संवाद समुहले आयोजना गरेको संवादको क्रममा कम जनशक्ति भएको कारण काम गर्न सकस हुने बताएका थिए । उनले जे भनेका थिए अबस्था त्यही आयो । उम्मेदवारी दर्ता गराउनकोलागि लाईनमा बसेकाहरुले मध्यराती १ बजेसम्म लाईन लागेर मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरे । दुई दिनसम्म मनोनयन दर्ताको लागि समय तोकिएको भएपनि दलहरुले निर्वाचन अधिकृतको कार्यालयले तोकेको समय पालना नगर्दा निर्वाचनमा खटिएका कर्मचारीलाई काम गर्न निक्कै सकस देखिन्थ्यो । तोकेको समयमा दलहरु नआउँदा ब्यवस्थापनमा अर्को समस्या देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मध्यरातीसम्म मनोनयनको फार्म लिएका कर्मचारी अढाई बजे मात्र त्यहाँबाट निस्किएका थिए ।
१९ वडा रहेको विराटनगर महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । वडा अध्यक्षमा १७२ जना, महिला वडा सदस्यमा १४३ जना, खुल्ला सदस्यमा २९१ जनाको उम्मेदवारी दर्ता भएको छ। दलित महिला सदस्य ११५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बिराटनगर महानगरपालिकामा ९७ पदको लागि ७२४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्