१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा मेयरको टिकट पाएका कोइराला र थापा को हुन् ?

संवाददाता

विराटनगर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा पार्टीहरूले उम्मेदवार टुंगो लगाएका छन् ।विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले नागेश कोइरालालाई विराटनगरको मेयरका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । राजनीति इतिहास बोकेको विराटनगरले पाउन लागेको मेयर कस्ता खालका होलान् भन्ने धेरैको चासो छ ।

विद्यार्थी राजनीतिबाट आएका थापा
३० वर्ष अघिदेखि राजनीतिमा लागेका सागर थापा यस पटक नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् । नेकपा एमालेले गरेको निर्णय अनुसार ५ जना प्रतिस्पर्धी मध्येबाट थापा उम्मेदवार बनेका हुन् । अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेको थापा अहिले महानगर कमिटीको अध्यक्ष हुन् । झण्डै दुई कार्यकाल महानगर कमिटी हाँकेका थापा अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा पनि दाबेदार थिए । विसं. २०३३ मा जन्मिएका थापा २० वर्ष अघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट एक्लै स्ववियु सभापतिमा निर्वाचित भएपछि उनको उचाइ चुलिएको थियो ।

राजनीतिमा महत्त्वपूर्ण अर्थ राख्ने महेन्द्र मोरङ क्याम्पसमा सम्पूर्ण सिट नेबि संघले जितेको अवस्थामा एक पटक उनी एक्लैले स्ववियु सभापति र अर्को पटक अन्य सदस्य सहित सभापति जितेका थिए । उनले दुई कार्यकाल स्ववियु सभापति जित्दा अहिलेका विराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए । स्ववियु काउन्सिलको केन्द्रीय सदस्य, एमालेको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै महानगरको अध्यक्ष भएका थापा पछिल्लो समय विराटनगरमा संगठन बिस्तारमा सक्रिय रूपमा लागेका थिए । पढाइमा स्नातकोत्तर गरेका थापा महेन्द्र मोरङको राजनीतिमा १५ वर्ष भन्दा बढी सक्रिय थिए ।

सम्पन्न परिवारका कोइराला
सिन्धुलीको दुम्जाबाट विराटनगर बसाइँ सरेर आएको परिवार हो कोइराला परिवार । कोइराला परिवारमा जन्मिएका नागेश कोइराला ऋषिकेश कोइरालाका नाति र उमेश कोइरालाका छोरा हुन् । उनी ४५ वर्षका भए । अस्ट्रेलियामा अध्ययन गरेर २० वर्ष पहिला नेपाल फर्किएका उनी राजनीतिमा होमिएका हुन् । बुबा हजुरबुबा सबै नेपाली कांग्रेसमा नै लागेका नागेशको राजनीतिक यात्रा नेपाली कांग्रेस तरुण दलबाट सुरु भएको हो ।

तरुण दल हुँदै नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष भएका उनी त्यसपछि सचिवमा चुनाव लडेर जितेका थिए । त्यसपछि उनी चौधौँ महाधिवेशनबाट मोरङ उपसभापति भएका हुन् । राजनीति परिवेशमा हुर्किएका उनी कांग्रेस भित्र राम्रो प्रभाव राख्ने व्यक्ति हुन् । आर्थिक अवस्थामा सम्पन्न मानिएको उनको परिवार हजुरबुबा ऋषिकेश कोइराला देखि नै आर्थिक रूपमा अब्बल मानिन्छन् । कोइराला की श्रीमती अनुजा अर्ज्याल कोइराला अहिले पनि विराटनगर महानगरपालिका वडा नम्बर ९ को कांग्रेस बुथ सभापति छिन् ।

नागेशका जिजु हजुरबुबा दधिराम कोइरालाहरूदेखि नै आर्थिक अवस्थामा सम्पन्न थिए । नागेश कोइराला जिजुहजुबुबा दधिरामलाई बिपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले तराईमा बसाई सारेर मधेस झारेका थिए । डा. शेखर कोइराला र नागेश कोइरालाको श्रीमतीका बिचमा पनि फुपू भदैनीको सम्बन्ध छ । गंगा अर्ज्यालको दाजुको छोरी पुनम अर्ज्याल कोइराला डा। शेखरले विवाह गरेका हुन् भने, गंगा अर्ज्यालको नातिनी अनुजा अर्ज्याल कोइराला नागेश कोइरालाले बिहे गरेको हुन् । राजनीतिकसँगै पारिवारिक सम्बन्ध भएका नागेश कोइरालालाई डा. शेखरको बलमा उम्मेदवार बनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्