१५ चैत्र २०८०, बिहिबार

छोरो जिताउन विराटनगरमा उपेन्द्रको कसरत

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा गठबन्धन दलहरूको तर्फबाट कार्यक्रमको आयोजना गरिएको थियो । बिहीवार बिहानै राखिएको कार्यक्रममा केही पत्रकार केही कार्यकर्ता सहभागी थिए । पत्रकारसँग अन्तरक्रिया भनेर बोलाइएको कार्यक्रममा पत्रकार त कमै थिए तर कार्यकर्ताको सहभागिता निक्कै थियो । गठबन्धनका तर्फबाट मेयरका प्रत्याशी नागेश काेइराला र उपमेयरका प्रत्याशी अमरेन्द्र यादवलाई आफ्ना कुरा राख्न दिँदै गर्दा त्यहाँ पुगेका थिए जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव ।

आफ्नो छोरालाई उपमेयरको उम्मेदवार बनाएको बारेमा आलोचित भएका यादव कार्यक्रमको मञ्चमा गएनन् । उनी दर्शक तर्फ नै बसेर काेइराला र आफ्ना छोराको भाषण सुनेर फर्किए । आफ्नो छोरालाई जिताउनकालागि विराटनगर महानगरपालिकामा जसपाले गठबन्धन गरेको आरोप उनीमाथि लाग्दै आएको छ । अरू थुप्रै नेताहरू भएपनि उनले अरू नेताहरूलाई पाखा लगाउँदै जुनियरलाई उपमेयरमा टिकट दिएको भन्दै कार्यकर्ताले उपेन्द्र यादवको विराेध गर्दै आएका छन् । यादवले आफ्नो छोरालाई उपमेयर बनाएको भन्दै उनकै दलका उमेश यादवले पार्टी नै परित्याग गरि स्वतन्त्र मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै, थुप्रै असन्तुष्टहरूले उपमेयर सहितको पदमा उम्मेदवारी दिएका छन् ।

कार्यकर्ताको बिचमा मुस्कानका साथ प्रस्तुत भएका यादवले कार्यक्रम स्थलमा पस्ने बितिकै कांग्रेसको तर्फबाट उम्मेदवार नागेश काेइरालालाई अंगालो मार्दै भने– ‘नागेश मेरो विद्यार्थी हो ।’ नागेशले प्रतिउत्तर थियो, ‘गुरु बा र मेरो धेरै वर्षपछि भेट भयो ।’ कार्यक्रममा उपस्थिति भएका नेपाली कांग्रेसका नेता कार्यकर्तालाई उनले केही सकारात्मक सन्देश दिन खोजेको जस्तो देखिएपनि उनी कार्यक्रममा बोलेनन् ।

कार्यकर्ता माझ मेयरका प्रत्याशी काेइरालाले आफु अहिलेसम्म पार्टी र सांगठनिक रूपमा मात्र जनता माझ गएको भएपनि यसरी जनप्रतिनिधिको लागि भन्दै पहिलोपटक उम्मेदवार बनेको भन्न भ्याए । विराटनगरको अपेक्षित विकास हुन नसकेको भन्दै काेइरालाले दुई भाई मिलेर विराटनगर बनाउने घोषणा गरे ।

नमुना विद्यालय, नगर अस्पताल, बाढी र डुवान समस्याको समाधान, ३० युनिट विद्युत खपत गर्नेलाई निःशुल्क बिजुली दिनेपनि आश्वासन दिए । उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले गठबन्धनको तर्फबाट एकजना मधेशी र अर्कोजना पहाडे समुदायको उपस्थितिले समानुपातिक विकास हुनेमा आशा गर्न उनले आग्रह गरे । छोराको भाषण सुनिरहेका उपेन्द्र यादव जबजब मुस्काउँथे उनको छोरा अपरेन्द्र जोडजोडले भाषण गरेका देखिन्थे ।

दुबै युवाको राजनीति भविष्य विराटनगरको निर्वाचनसँग जोडिएको बताए । उपप्रमुखको अधिकारको कुरा गरेर नागरिकलाई आश्वस्त पार्नु पर्ने अमरेन्द्र उपप्रमुखको अधिकारको कुरै गरेनन् । उनले भने, ‘फोहोर व्यवस्थापन, जग्गाको ल्याण्डपुलिङ गरि नयाँ सहर बसाउँछु, खोलाको तटबन्धन गरेर डुबान हटाउँछु ।’

यहाँ कमेन्ट गर्नुहोस्