१२ बैशाख २०८१, बुधबार

देशकै धेरै मतदाता भएको जिल्लामा अझै पुगेन मतपत्र, समयमै काम सक्न सकस हुने

संवाददाता

विराटनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन अधिकृतका कार्यालयहरु आन्तरिक ब्यबस्थापनमा तालमेल नमिल्दा तनावमा देखिन्छन् । आउन पर्ने मतपत्र मोरङ जिल्लामा अझै आईपुगेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैशाखको २०–२१ गतेसम्म नै आईपुग्नु पर्ने मत पत्र कहिले आउने भन्नेमा अन्यौल रहेको छ । समयमै मत पत्र नआउँदा अन्तिम समयमा ब्यवस्थापमा समस्या हुने जनाईएको छ । मत पत्रको ढाँचा अउन समय लागेको कारण आयोगले छपाईमा ढिला गरेको हुनसक्ने निर्वाचन अधिकृतको कार्यालयहरुले बताएका छन् ।
‘मोरङ जिल्लाकालागि भनेर आजसम्म पनि मतपत्र हिँडेको छैन, मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने, आयोगले आजसाँझ मात्र पठायो भनेपनि आउने २४ गतेसम्म लाग्छ भन्ने जानकारीमा आएको छ।’ निर्वाचन अधिकृतका कार्यालयहरुले मतपत्रको बारेमा निर्वाचन आयोगमा पटक पटक सम्पर्क गर्दापनि रेस्पोन्स गरेको छैन ।
विराटनगर महानगरपालिकाको चुनाव चिन्ह पठाएको ५ दिन भईसक्दा पनि आयोगबाट मतपत्र छपाई भएर आएको छैन । महानगरपालिकामा धेरै उम्मेदवार हुने भएपछि आयोगले महानगरपालिकाको मत पत्र छाप्न ढिलाई गरेको थियो । आयोगले मतपत्र पठाएपछि पनि निर्वाचन अधिकृतका कार्यालयरुलाई त्यो मतपत्र मिलाउन र रुजु गर्न समय लाग्ने भएको कारण मतपत्र ढिला आउँदा धेरै कामहरु रोकिने मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘मत पत्रमा हुने छाप, चिन्ह, नम्बर लगायत सबै रुजु गर्नु पर्ने हुन्छ, मुख्य निर्वाचन अधिकृत लम्सालले भने, २७ गतेसम्म मतदान स्थलमा कर्मचारी खटाईसक्नु पर्ने भएकोले, २६ गतेसम्म मत पेटिका र मतपत्र दिईसक्नु पर्छ ।’
मतपत्र ढिला आउने संकेत पाएर निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम यही बैशाख २५ र २६ गते राखेको छ। मतदान अधिकृतहरुलाई तालिम सकेर फर्किने क्रममा मतपत्र र मट पेटिका सँगै दिने भन्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत पत्र आउन समय लाग्ने भएपछि अब कसरी ब्यवस्थापन गर्ने भन्ने समस्या आएको मुख्य निर्वाचन अधिकृत लम्सालले बताए । ‘हामीले हाम्रो तर्फबाट गर्नु पर्ने सबै तयारी गरेको छौँ, उनले भने, मतदानमा खटिने कर्मचारीको बिवरण तयार भईसकेको छ, २४ गतेसम्ममा मत पत्र आएमा ४८ घण्टा नै खटिएर भएपनि मत पत्र रुजू गर्नु पर्ने अबस्था आएको छ।’ सम्बन्धित मतदान केन्द्रमा पठाउनु पर्ने सामाग्रीहरु २६ गते साँझसम्म उपलब्ध गराईसक्ने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ । थोरै जनशक्तिका बिच काम गर्नु पर्ने भएकोले समयमै मत पत्र आएको अबस्थामा काम गर्न सहज हुने भएपनि ढिला भएको अबस्थामा अप्ठेरो अबस्था आउनसक्ने कार्यालयले जनाएको छ।
मोरङ जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् । १७ स्थानीय तहमा ३ सय मतदान स्थल र ८२० मतदान केन्द्र रहने छन् । ८२० मदतान केन्द्रका लागि आबश्यक पर्ने मतदान सामाग्री तयारीको लागि ३ दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘मत पत्र आउन समय लाग्ने भएपछि कसरी सहज गर्न सकिन्छ भन्ने बारेमा पुर्ब तयारीहरु भईरहेको छ, लम्सालले भने, हामीले हाम्रो तर्फबाट गर्नु पर्ने सबै कामहरु तयारी अबस्थामा छौँ, मत पत्र आएपछि अरु काम अघि बढ्छ ।’
सुनसरीमा भने बैशाख १७ गते नै मत पत्र पुगेको छ । मत पत्र पुगेपछि अहिले मिलाउने र शुरु गर्ने काम सकिएको छ । बुधबार, बिहिबार र शुक्रबार तीनदिनसम्म चल्ने तालिम पछि मतदान अधिकृतहरुलाई ति सामाग्री दिएर पठाईने धरान उपमहानगरपालिकाका निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्