०८ बैशाख २०८१, शनिबार

विराटनगरलाई नमुना महानगर बनाउँछु : नागेश कोइराला (अन्तरवार्ता )

संवाददाता

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रिया लगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ इच्छाशक्ति लिएर आफू अगाडि बढेको बताउने कोइराला पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने आफ्नो संकल्प रहेको सुनाउँछन् । चुनावी प्रचार, एजेण्डा, चुनाव जित्ने आधारलगायतका विषयमा केन्द्रित रहेर उम्मेदवार नागेश कोइरालासँग कुराकानी गरिएको छ।

चुनावको प्रचार प्रसार कसरी हुँदैछ ?
उम्मेदवार भएपछि स्वभाविक रुपमा चुनाव त लाग्ने नै भइहाल्या । घरदैलो, कोणसभा, भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छु । भेट्न नसकेका महानुभावहरूलाई फोनबाटै भए पनि भोट मागिरहेको छु । गठबन्धन भएका कारण गठबन्धन दलका नेताहरुसँग पनि बस्ने छलफल गर्ने र भोट माग्ने क्रम चलिरहेको छ।

घरदैलोमा पुग्दा महानगरवासीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
महानगरवासीको प्रतिक्रियाले म निकै उत्साहित भएको छु । नागेश कोइराला मेयर भयो भने पक्कै पनि विराटनगर बनाउँछ भन्ने धेरैमा आशा र भरोसा पाएको छु । यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो र चुनौती पनि हो, चुनौती यस अर्थमा की उहाँहरुको आशालाई मैले पुरा गर्नु छ । मैले तरुण दल र पार्टीका विभिन्न तहमा बसेर काम गर्दैगर्दा समाजसेवालाई पनि निरन्तरता दिएँ । महानगरवासीका दुःखसुखमा साथै रहें । त्यही भएर पनि मेरो उम्मेदवारीले महानगरवासीमा एक किसिमको आशा जगाएको छ ।

नेताहरुलाई मतदाताले विस्वास गरेको देखिँदैन, तपाईलाई चाँही किन बिस्वास गर्नु ?
म विराटनगरमै जन्मे, हुर्कें बढे, पढें । मलाई यहाँको अघात माया छ । विराटनगरको धुलोका कण–कणमा मेरो सम्बन्ध छ । त्यसो भएकाले म विराटनगरलाई धेरै माया गर्छु । विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । मैले भन्दै आएको छु पाँच वर्षे कार्यावधि पूरा गरेर महानगरबाट बाहिरिँदै गर्दा महानगरवासीले फूल र मालाले भव्यताका साथ विदाइ गर्ने अवस्था सिर्जना गर्छु । अर्को के हो भने मलाई कुनै लोभलालच छैन । भ्रष्टाचारलाई शून्यमा झार्छु । नागेश कोइराला मेयर भयो भने पक्कै भ्रष्टाचार गर्दैन, जे बोल्छ त्यो गर्छ । म जनतालाई दुःख दिने काम गर्दिन । महानगरबाट प्रवाह हुने सेवालाई सरल बनाउँदै प्रविधिमैत्री बनाउनेछु । हुने कामलाई तत्कालै गर्ने नहुने काम छ भने कारणसहित सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाउने हो भने सहव हुन्छ । मेरो काम गर्ने शैली अलि फरक पनि छ । यिनै आधारले गर्दा मलाई नगरवासीले विस्वास गर्नु भएको छ । म गठबन्धनबाट मेयरमा उम्मेदवार छु भने उपमेयरका उम्मेदवार पनि गठबन्धनबाट अत्यन्तै क्षमतावान र केही गर्नुपर्छ भन्ने पवित्र भावना बोकेका युवानेता अमरेन्द्र यादव हुनुहुन्छ । हाम्रो भिजन, हाम्रो काम गर्ने शैली, हाम्रा योजना, समाजमा हाम्रो छविलगायतका कारणले मतदाताले विस्वास गर्नु पर्छ, गर्नु भएको छ।

विराटनगर बनाउने तपाईँका एजेण्डा के हुन् ?
पार्टीका केन्द्रीय सदस्य भीम पराजुली नेतृत्वको जनप्रतिनिधिले सुरु गरेका कामलाई निरन्तरता दिँदै विराटनगरको विकास गर्ने थुप्रै एजेण्डाहरू छन् । हामीले प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छौं । त्यो प्रतिबद्धतापत्रमा धेरै कुराहरू समेटेका छौं । मेरो बानी धेरै बोल्नेभन्दा काम गर्ने छ । म जे बोल्छु त्यो गरेर छाड्छु । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुहुन्थ्यो ‘म जे बोल्छु त्यो गर्छु’ मैले यो भनाइलाई प्रेरणाका रुपमा लिएको छु । त्यसो भएकाले मैले धेरै ठूला योजना अघि सारेको छैन । महानगरवासीका साना–साना समस्या समाधान गर्ने योजनाहरू छन् । पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो मेरो । यदि भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ । तपाईं हेर्न सक्नुहुन्छ भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँदिल्लीलाई लिन सकिन्छ । भ्रष्टाचार मात्रै नहुने हो भने विराटनगर मात्रै होइन मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो । भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म विराटनगरबाट देखाउन चाहन्छु । महानगरवासीका लागि मेट्रोसिटी अस्पताल बनाउनेछु । महानगरका विभिन्न स्थानमा महिला र अपाङ्गमैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा, ३० युनिट मात्रै विद्युत खतप गर्नेका लागि महसुलमा छुट, ज्येष्ठ र अपाङ्गहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तरीय वृद्धि, खानेपानी समस्या समाधान र डुबान समस्या समाधानका लागि केसलिया र सिंघिया खोलामा तटबन्धन निर्माण गरी दुवैतर्फ सडक निर्माण गरेर विराटनगर बजार क्षेत्रको सवारी चापलाई कम गर्ने योजना छ । यसबाहेक करको दायरा बढाउने र दर घटाउने एजेण्डा पनि छन् म सित । स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रका एजेण्डाहरू छन् । यहाँ विस्तृतमा भनेर साध्य छैन । सारमा भन्नुपर्दा सफा, सुन्दर, हराभरा, सुरक्षित अनि विराटनगरवासीले गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको टिम बनाएर उहाँहरूको सुझावअनुसार विराटनगरलाई पाँच वर्षभित्र मुलुककै नमुना महानगर बनाउनेछु ।

यति धेरै योजना सुनाउनु भयो, यी सबै आश्वासनका पोका त होलान् नी ?
महानगरको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ । तर, पूरा गर्न सकिन्छ । प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ । दातृ निकायहरू पनि विराटनगरमा लगानी गर्न चाहन्छन् । उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ । यसभन्दा अगाडि पनि एडीवीको पैसाबाट विराटनगरमा ढलसहितको सडक बनेको छ । अब बाँकी सडक पूर्वाधारसहित अन्य क्षेत्रको विकासका लागि एडीवी, जाइका, ईयूलगायतका दातृ निकायबाट सहयोग ल्याउन सकिन्छ । अर्कोतर्फ विराटनगरमा जन्मिएर विदेशमा कर्म गरिरहेका विराटनगरलाई माया गर्ने थुप्रै महानुभावहरू हुनुहुन्छ । उहाँहरूलाई पनि विराटनगरसँग जोड्न सकिन्छ । मात्रै इच्छाशक्ति र भिजन चाहियो मसित यी दुवै छन् । यसबाहेक विराटनगरमा ठूला मन भएका उद्योगी व्यवसायीहरू हुनुहुन्छ । उहाँहरूसित मिलेर धेरै काम गर्न सकिन्छ । यसभन्दा अगाडि कोशी कोभिड अस्पताल बनाउँदा यहाँका उद्योगी व्यवसायीहरूले मन फुकाएर सहयोग गर्नु भएको कुरा त तपाईंहरूकै मिडियाहरूमा पनि आएको थियो । यहाँको निजी क्षेत्रलाई पनि सँगसँगै लिएर हिंड्न सकिन्छ । उहाँहरूले विगतदेखि नै विराटनगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । यसका लागि मसित स्पष्ट योजना छन् । विराटनगर बनाउने दृढ इच्छाशक्ति छ ।

तपाईलाई तपाईँकै केन्द्रीय नेताको साथ छैन भन्छन् ? जीतको आधार के हो त ?
हामी नेपाली कांग्रेसका नेताहरु सबै एक भएर लागेका छौँ । विराटनगर कांग्रेसको गढ पनि हो । कांग्रेस एक्लै चुनावमा लड्दा पनि विराटनगरमा जित्छ । अर्को जसपासित केन्द्रदेखि गठबन्धन छ हाम्रो । दुईवटा पार्टीको तालमेल नै जितको आधार हो । अर्को हामीले अघि सारेका एजेण्डा पनि हाम्रो जितको आधार हो भन्ने लाग्छ मलाई । यसबाहेक अर्को आधार सोध्नुहुन्छ भने कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, केन्द्रीय नेताहरू महेश आचार्य, डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली मात्रै होइन पार्टीका आमकार्यकर्ताहरू पनि कांग्रेसलाई जिताउन रातदिन नभनी लाग्नु भएको छ । विराटनगरमा हाम्रो कसैसित पनि प्रतिस्पर्धा छैन हामीले चुनाव जितिसक्यौं भन्दा हुन्छ ।

तपाईंले भ्रष्टाचार शून्यमा झार्छु भन्दै आउनु भएको छ, त्यो सम्भव छ ?
म सकारात्मक सोच भएको व्यक्ति हुँ । हामी सबै मिल्यौं भने सक्छौं । भनाइ नै छ मुहान सफा भयो भने तल बग्ने पानी पनि सफा हुन्छ । यदि मुहान फोहोर भयो भने जति नै प्रयास गर्दा पनि तल बग्ने पानीलाई सफा गर्न गाह्रो पर्छ । त्यसो भएकाले म भ्रष्टाचार गर्दिनँ । मैले भ्रष्टाचार गरिँन भने अरुले पनि गर्ने आँट गर्दैनन् । यदि भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने स्वतः भ्रष्टाचारको अन्त्य हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्