०४ बैशाख २०८१, मंगलबार

मेयरका उम्मेदवार थापा भन्छन्,- ‘विराटनगरका सुकुम्बासीको घर नबन्दासम्म म घर बनाउँदिन’

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका सागर थापाले सुकुम्बासीको घर नबनेसम्म आफ्नोे पनि घर नबनाउने बताएका छन् । उनले सुकुम्वासी समस्या समाधान नहुँदासम्म आफुले पनि घर नबनाउने बताएका हुन् । ‘विराटनगर महानगरपालिकाभित्र २० हजार सुकुम्बासी छन् । उनीहरूसँग जग्गा छैन । जग्गाको व्यवस्थापन गरेर सुकुम्बासीलाई घर बनाइदिने मेरो प्रतिवद्धता छ,’ उनले भने, ‘म पनि सुकुम्बासी हुँ । अहिलेसम्म आफ्नोे घर नभएकाले डेरामा बसिरहेको छु । महानगरभित्रका सुकुम्बासीका लागि घर नबनाएसम्म म आफ्नोे पनि बनाउँदिन ।’

४६ बर्षीय थापाले आफू गरीबको छोरो भएको र राजनीतिमा तल्लो तहबाट दुःख गरेकाले जनताको सबै समस्या नजिकबाट बुझ्ने मौका पाएको पनि उनले बताए । आर्थिक रूपले विपन्न रहे पनि जनसम्पर्कका हिसाबले भने उनी धनी उम्मेदवारका रूपमा चिनिन्छन् । ‘धनका हिसाबले गरीब छु । सुकुम्बासी हुँ । न मेरो जग्गा छ । न त घर नै,’ थापाले भने, ‘जनसम्पर्क र सबैसँगको सम्बन्धका हिसाबमा धनी छु । विराटनगरमा लामै समयदेखि राजनीतिक अभियानमा जोडिएँ । सबैको साथ पाएर चुनाव जित्छु ।’ विराटनगर–४ मा डेरा लिएर बस्दै आएका उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । सबैसँग चाँडै घुलमिल हुने र मन जित्ने नेताका रूपमा थापा चिनिन्छन् । थापा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष हुन् ।

उनले आफुलाई भुईँ मान्छे भन्ने गरेका छन् । ‘म भुइँ मान्छे हुँ । भुइँका सबै समस्या मैले नजिकबाट बुझेको छु । विराटनगरको मेयरमा निर्वाचित भइसकेपछि सुकुम्बासीलाई घर उपलब्ध गराउने मेरो पहिलो काम हुने छ,’ उनले भने, ‘विराटनगरलाई समृद्ध बनाउने मेरो अभियान छ । गौरवपूर्ण अभियानमा सिंगो विराटनगरको साथ खोजिरहेको छु । यसअघि महानगरको नेतृत्व गर्नेले विराटनगरको शाख गिराउने काम मात्रै गरेको देख्दा साह्रै दुःख लागिरहेको छ ।’ उनले चुनाव जितेपछि विराटनगरको सुकुम्बासी र डुबानको समस्या समाधान गर्ने बताएका छन् । उनले आफु बिराटनगरको मेयर भएपछि विराटनगरलाई व्यवस्थित र समुन्नत शहरका रूपमा देख्न पाउने उनको दाबी छ ।

विराटनगर सुकुम्बासी समस्या र डुबानमुक्त शहर बन्ने उनी बताउँछन् । यसअघिका जनप्रतिनिधिले आफूलाई शासकका रूपमा स्थापित गराएको बताउँदै थापाले जनताको सेवक भएर निस्कने बताए । ‘नागरिकका हरेक दुःखमा साथ दिने छु, उनले भने, विराटनगरमा सधैँ सागरको खोजी हुने अवस्था बनाउने छु ।’ विराटनगरको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास र सामाजिक विकासलाई प्राथमिकतामा राखेको बताए । वातावरण संरक्षण, पार्क निर्माण, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन, शहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्धलाई विशेष जोड दिने थापाको प्रतिवद्धता छ । ‘जनप्रतिनिधिले सेवक बनेर सामाजिक जागरण र विकासका अभियान्ताको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘वृहत गुरुयोजना बनाएर व्यवस्थित, विकसित र वातावरण मैत्री बनाउँदै प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारका संरचनालाई व्यवस्थित ढंगबाट निर्माणका लागि आवश्यक पहल तथा सहजिकरण गर्ने छु ।’

यहाँ कमेन्ट गर्नुहोस्