१२ बैशाख २०८१, बुधबार

मोरङमा ६२ प्रतिशत मत खस्यो, ईटहरी धरान ६५ प्रतिशत

संवाददाता

विराटनगर । मोरङ जिल्लामा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक सार्बजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार देशकै सबैभन्दा धेरै मतदाना रहेको विराटनगरमा ६२ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले अहिलेसम्मको जानकारी अनुसार ६३ प्रतिशत मत खसेको आँकलन सहितको विवरण प्राप्त भएको बताए । ‘प्ररम्भिक चरणमा करिब ६२ प्रतिशत मत मोरङमा खसेको आँकलन गरेका छौँ, उनले भने, यो प्रारम्भिक तथ्यांक हो, विराटनगरको दुई ठाउँमा र ग्रामथानको एउटा मतदान केन्द्रमा अहिलेपनि मतदान भईरहेको भन्ने जानकारी आएको छ।’ मोरङ जिल्लामा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका थिए । कुल मतदाताको करिब ६२ प्रतिशतले मात्र मतदान गरेको आँकलन गरिएको छ। मोरङमा ३०० मतदान स्थलको ८२० मतदान केन्द्रबाट मतदान भएको थियो ।
धरानमा ६५ प्रतिशत
सुनसरीको धरान उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार ६५ प्रतिशत मत खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। मतदानको पुर्णविवरण नआईसकेकोले यसै भन्ने अबस्था छैन, उनले भने, अहिलेको प्रारम्भिक जानकारी अनुसार करिब ६५ प्रतिशत मत खसेको हुनसक्ने अनुमान छ ।’ सुनसरीमा मतदान प्रक्रिया अन्तिम अवस्थामा पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले जानकारी दिए । केहि मतदान केन्द्रमा भने सात बजे सम्म मतदान हुने अवस्था रहेको यादबले बताए । यसका लागि आवश्यक बत्तिको व्यबस्था मिलाइएको छ ।
ईटहरी उपमहानगरपालिकामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ। निर्वाचन अधिकृत नारायण रिमालका अनुसार अहिले बाक्साहरु आउने क्रम शुरु भएकोले एकिन भन्न सक्ने अबस्था छैन, करिब ६५ प्रतिशत माथि हुनसक्छ ।

मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा संकलन हुन थालेको छ । बिराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका सहितका स्थानीय तहमा मत पेटिका संकलन हुन थालेको निर्वाचन अधिकृतका कार्यालयहरुले जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्