०८ बैशाख २०८१, शनिबार

विराटनगरका स्थानीयले नयाँ र पुराना वडा अध्यक्षलाई राखेर भने, ‘मिलेर वडाको विकास गर’

संवाददाता

विराटनगर । देशभरीका स्थानीय तहको मत परिणाम सार्बजनिक हुने क्रम अन्तिम चरणमा छ । निर्वाचित भएका जनप्रतिनिधिहरु कोही आशिर्वाद लिन मन्दिर पुगे होलान्, कोही विजय उत्सव सहितको ठुला ध्वनीको तामझामका साथ मतदातालाई रिझाउन घर घर पुग्दै होलान् । शनिवार बिहान भने विराटनगर महानगरपालिका वडा नम्बर १ बिजयपुरका नागरिक भने निवर्तमान जनप्रतिनिधि र नव निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर विकास निर्माणको लेखाजोखा गर्दै थिए ।
उनहरुको एउटै उदेश्य थियो विकासको काममा एक भएर हिड्ने वातावरण बनाउनु । विजयपुर (ख) टोल संगठनको आयोजनामा पहिला निर्वाचित भएका र अहिले निर्वाचित भएर आएका जनप्रतिनिधिलाई गाउँलेले एकै ठाउँमा बोलाएर पाँच बर्षको समिक्षा सहित नयाँ योजजना सुन्न चाहेका थिए । उनीहरुले त्यही क्रममा स्वागत र बिदाई पनि गरे । यो ५ बर्षमा भएको कामको समिक्षा गर्न र काम गर्ने क्रममा देखिएका केही त्रुटी भए नयाँ जनप्रतिनिधिलाई सच्याएर जाने वातावरण बनाउन पुराना जनप्रतिनिधिलाई स्थानीयको आग्रह थियो । स्थानीय हरिपृया खतिवडाले ५ बर्षमा भएका राम्रा काम, सकारात्मक र रचनात्मक रूपमा वितेको भएपनि बाँकी कामहरुको बारेमा नयाँ जनप्रतिनिधिलाई बुझाएर जानु पर्ने सुझाव दएकी थिईन् । सम्पन्न, मध्यम र न्युन आय भएका सुकुम्बासीको बसोवास रहेको क्षेत्रका नागरिकलाई उनीहरुको मागका आधारमा मिलाएर लग्न उनीहरुको सुझाव थियो ।
टोल संगठनका अध्यक्ष डा चन्द्र उपाध्यायले हिजो चुनावमा आउँदा ठिक र बेठिक छुट्याउने काम भएपनि अब निर्वाचित भएर आएपछि राम्रोलाई राम्रो नराम्रोलाई सुधार गरेर जान आग्रह गरे । निवर्तमान र निर्वाचित दुबै जनप्रतिनिधिले छलफल गरेर जाने हो भने गाउँटोला राम्रा कामहरु हुने उनको भनाई थियो । ‘तपाईहरु हिजो र आजका दुबै जनप्रतिनिधि मिलेर हाम्रो गाउँ टोल बनाउने योजना सहित आउनुस्, उनले भने, हामी नागरिकको तर्फबाट वडाको विकासमा सबै खालको सहयोग गर्न तयार छौँ ।’
निवर्तमान वडा अध्यक्ष उद्वब अर्यालले सक्षम नेतृत्व ल्याउन सकेकोमा खुसी ब्यक्त गरे । नागरिकले महसुस गर्न पाउने खालको काम वडामा हिजो पनि भएको र भोलीका दिनमा पनि हुनेमा आफु विस्वस्त रहेको बताए । अप्ठ्यारोमा भोली पनि आफु सँगै हुने बताएका अर्यालले नागरिकका समस्या र सारोगारो परेको बेला वडाले नै काम गर्नु पर्ने बताए । ‘अप्ठेरो परेको बेला कुनै सरकार, मन्त्री आउनेवाला छैनन्, उनले भने, स्थानीय वडा भनेको स्थानीयसँग जोडिने भएकोले स्थानीयका समस्या स्थानीय स्तरबाट नै समाधान खोजिनु पर्छ ।’
नव निर्वाचित वडा अध्यक्ष काजी बहादुर बस्नेतले आफ्नो योजना नै टोल विकाससँग सल्लाह र समन्वय गरेर विकासका योजना अघि बढाउने रहेको बताए । टोल संगठनलाई जागरुक र सक्रिय बनाउने, भोली पनि तिनै टोल संगठनले ल्याएका योजनाका आधारमा विकास निर्माणको कामलाई अघि बढाउँदा काम गर्न सजिलो हुने अफुले महसुस गरेको सुनाए ।
‘निवर्तमान र वर्तमान जनप्रतिनिधि मिलेर काम गर्ने छौ, बस्नेतले भने, बजेट थोरै आकांक्षा धेरै हुनसक्छन् त्यस्तो अबस्थामा प्राथमिकताको आधारमा अघि बढ्छु ।’ डुवान समस्या समाधानको लागि पानी निकास, तटबन्ध, कच्ची सडकलाई ग्राभेल, ग्राभेललाई कालोपत्रे गर्ने भनेका छौ यी विषयलाई प्राथमिकतामा राखेर जानु पर्नेमा जोड दिए । सबै मिलेर वडालाई बनाउने र नमुना वडाको रुपमा विकास गर्न सबैको सहयोग हुनु पर्ने बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर १बाट उद्धव अर्यालले चुनाव जित्दा काजी बस्नेतले पराजवय ब्यहोरेका थिए । अहिले बस्नेत मैदानबाट जनप्रतिनिधि भएर आउँदा अर्याल बाहिरिएका छन् । वडामा आउने र जानेका बिचमा समन्वय हुन सकेमा धेरै कामहरु पुरा हुने आशा स्थानीयको छ।
कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरु काजी बहादुर बस्नेत, वडा सदस्यहरु खुस्बू वि क, मोहन कर्ण कार्की, लक्ष्मी राईनी र शुशील गुभाजू सहभागी थिए भने निवर्तमान जनप्रतिनिधिहरुमा वडा अध्यक्ष उद्धव अर्याल, सदस्यहरु भगवती परियार, रमेश शाह, कमला रिजाल र पवन भट्टराई सहित करिब २ सयको उपस्थिती थियो ।

यहाँ कमेन्ट गर्नुहोस्