१६ मंसिर २०७९, शुक्रबार

प्रदेश १ मुख्यमन्त्री कार्यालय अघि मुल्यबृद्धिको बिरोध, खाली सिलिण्डर सडकमा प्रदर्शन

संवाददाता

विराटनगर । ईन्धनमा भएको मुल्यबृद्धिको बिरुद्धमा बिराटनगरमा उपभोक्तावादी संस्थाहरुले बिरोध थालेका छन् । सरकारले खाना पकाउने ग्यास र ईन्धनमा अत्याधिक मुल्यबृद्धि गरेको विरुद्धमा उपभोक्तावादी संस्थाहरु आन्दोलित भएका हुन् ।
उपभोक्तावादी संस्थाले प्रदेश १को मुख्यमन्त्री कार्यालयको अगाडी खाली सिलिण्डर ग्यास प्रदर्शन गरेर बिरोध गरेका हुन् । महँगी र भष्टाचार नियन्त्रण गर्नु पर्ने, पेट्रोलियममा गरिएको मुल्यबृद्धि फिर्ता गर्नु पर्ने, प्रदेश सरकारनागरिकको पक्षमा नबोलेर सुतेको लगायतका नारा लेखिएको प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालय अगाडी बसेर उपभोक्ताहरुले खाली सिलिण्डर प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मुल्यवृद्धि गरेपछि उपभोक्ता महँगीको मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गरेपनि प्रदेश सरकारले हेरेर मात्रै बसेकोले मुख्यमन्त्री कार्यालय अगाडी खाली सिलिलण्डर राखेर बिरोध गर्नु परेको बताए । ‘पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनु पर्छ, उनले भने, जनतालाई महँगीमा पारेर भ्रष्टाचार मौलाएको छ, यसलाई नागरिकले सहेर बस्दैनन् ।’
आजदेखि शुरु भएको मुल्य बृद्धि बिरुद्धको आन्दोलन निरन्तर चल्ने उपभोक्तावादी संस्थाले बताएका छन् । प्रदर्शनमा नागरिक समाज, विवेकशील साझा पार्टी लगायतको समर्थन छ । नागरिकले थेग्नै नसक्नेगरि मुल्यबृद्धि हुँदा पनि ठुला भनिएका दलका नेता, कुनै संगठनहरु चुईक्क समेत नबोलेकोमा उपभोक्ताले असन्तुष्टि जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्