१३ बैशाख २०८१, बिहिबार

विराटनगर-बन्दरगाहासम्म कार्गो रेल संचालन गर्ने नीतिले ब्यवसायी उत्साहित

विराटनगरका ब्यवसायीको दृष्टिमा नीति तथा कार्यक्रम ‘सन्तुलित तर कार्यान्वायनमा शंका’

संवाददाता

विराटनगर । प्रदेश १ का उद्योगी ब्यवसायीले सरकारको नीति तथा कार्यक्रमलाई सन्तुलित र सकारात्मक रुपमा लिएका छन् । सरकारले सार्बजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्बका उद्योगी ब्यवसायीले प्रदेश १ र ब्यवसायीका लागि केही सकारात्मक रहेकेो बताएका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराल प्याकुरेलले प्रदेश १ को सुख्खा बन्दरगाहामा कार्गो रेल संचालन, पुर्ब पस्चिम बिद्युतीय रेल मार्ग, आईसीटिको बाँकी काम सक्न भनेर नीति तथा कार्यक्रमले समेट्नुले केही आशा गर्न सकिने बताए । ‘औद्योगिक ग्राम संचालनका लागि निजी क्षेत्रसँगको साझेदारी गर्ने भनिएको छ, उनले भने, सरकारसँग पटक पटक निजी क्षेत्रले उठाउँदै आएको कुराहरु समेटिएका छन् ।’ उत्पादनमुलक उद्योगलाई प्राथमिकतामा राख्ने भनेर अहिलेको नीतिले समेटेको भएपनि बजेटलाई जोडेर जाँदा सन्तुलित हुने उनको तर्क छ। ‘निर्यात मुलक उद्योगलाई बिद्युतमा सहुलियत दिने भन्ने खालको कुरालाई हामीले सहज रुपमा लिएको छौँ, उनले भने, उद्योग संगठनले संचालन गर्दै आएको स्टार्ट अप ब्यवसाय सहजीकरण गर्ने भनिएको छ यसले नयाँ ब्यवसायी उत्पादनमा सहयोग पुर्याउँछ ।’
उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले भने सरकारको नीति तथा कार्यक्रमलाई खासै प्रभावकारी रुपमा लिएका छैनन् । नीति तथा कार्यक्रमले धेरै क्षेत्र समेटेको भएपनि कार्यान्वायनको बिषय प्रमुख हुने उनको भनाई छ। ‘नीति तथा कार्यक्रमले विकास निर्माण, औद्योगिक क्रान्ति र आर्थिक समृद्धिमा खासै महत्व दिएको देखिँदैन, उनले भने, बोलेका कुराहरु कार्यान्वायन भए पनि केही हदसम्म आशा गर्न सकिन्थ्यो तर कार्यान्वायनमा पटकै विस्वास छैन ।’ अहिलेको नीति तथा कार्यक्रमलाई नै आधार मानेर धेरै भन्नभन्दा पनि पुर्ण बजेट आएपछि मात्र कसरी अघि बढ्छ भन्न सकिने उनको तर्क छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सरकारले ल्याएको नीति तथा कार्यक्रम केही नयाँ र केही पुरानै खालको रहेको प्रतिक्रिया दिए । प्रदेश १सँग जोडिएर आएका बिमानस्थलमो नयाा टर्मिनल भवन बनाउने कुरा, विराटनगरदेखि सुख्खा बन्दरगाहासम्म कार्गो रेल संचालन गर्ने कुरा पुरानै भएको उनको प्रतिक्रिया छ । कार्गो रेल संचालनले उद्योगी ब्यवसायीलाई ढुवानीमा लागत घट्ने उनको भनाई छ । उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई सकारात्मक लिएका छन् । नीति तथा कार्यक्रमले औद्योगिक क्षेत्रमा लगानी बिस्तार देखि उत्पादनसम्म र कृषि क्षेत्र विस्तारलाई छोएको बताए । ‘औद्योगिक उत्पादनको लागि बिद्युतमा सहुलियत गर्ने भनेको छ, यो राम्रो छ, उनले भने, घरजग्गा कारोवार कम्पनी मार्फत गर्नु राम्रो हो ।’
प्रदेश १ का उद्योगी पवनकुमार सारडा उद्योगको लागि जग्गा अधिग्रहरणको समस्यालाई सहजीकरण गर्ने खालको नीति उद्योगीको लागि सकारात्मक भएको बताए । अहिले पनि धेरै जग्गा आबश्यक पर्ने उद्योगहरुलाई जग्गा अधिग्रहणमा समस्याथियो, उनले भने, सरकारले नीतिले केही सजिलो गराएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम सबै राम्रो देखिएपनि कार्यान्वायनमा आशंका रहेको उनको भनाई छ। ‘बोलेका कुरा कार्यान्वायन गर्ने कुरा निक्कै चुुनौती पुर्ण छ, उनले भने, बोल्ने मात्र तर कार्यान्वायन कमै भएको देखिन्छ, पुर्ण कार्यान्वायनमा जाने हो भने नेपाल समृद्ध हुन्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्