२६ बैशाख २०८१, बुधबार

विराटनगरमा कृष्ण सेन इच्छुकको सम्झना

संवाददाता

विराटनगर । विराटनगरमा सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवस मनाईएको छ। प्रेस सेन्टर नेपाल मोरङ र प्रेस सेन्टर नेपाल विराटनगरको आयोजनमा इच्छुकको सम्झनामा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र) प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकले पत्रकारिता र साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । पत्रकार सेन इच्छुक समाजको ऐना रहेको उनले स्मरण गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघप्रदेश १ का महासचिव विवेक गौतम, नाटककार तथा श्रष्टा भरत गुरागाईं बर्बरिकले पनि इच्छुकको योगदानको चर्चा गरे । प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले कृष्ण सेन इच्छुकलाई स्मरण गर्दै पत्रकार महासंघले पनि कृष्णसेनको स्मृतिदिवस साझा रुपमा मनाउनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले तत्कालिन सरकारको विरुद्धमा आवाज उठाएकै कारण एक होनाहार पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहारले इच्छुकको पत्रकारितामा दिएको योगदानको सम्झना गरे ।
तत्कालिन जनादेश साप्ताहिकका सम्पादक रहेका कृष्णसेन इच्छुकलाई सेनाले हिरासतमा लिएर लामो समयसम्म वेपत्ता बनाउँदै २०५९ जेठ १३ गते हत्या गरेको सार्वजनिक भएको थियो । सोहीदिनको स्मरणमा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले विभिन्न कार्यक्रम गरेको छ । विराटनगरमा आयोजित कार्यक्रम प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा आयोजना गरिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्