१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा स्व. न्यौपानेको सम्झना: पत्रकार भन्छन्-‘प्रदेश सरकार रेडियोहरुप्रति अनुतरदायी बन्यो’

संवाददाता

विराटनगर । प्रदेश १ सरकारले स्थानीय संचार माध्याम संरक्षणको लागि संकुचित भएको आरोप लागेको छ। विराटनगरमा स्वर्गीय चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसको अवसरमा आयोजित व्यवसायिक रेडियोको विकासमा स्वर्गीय न्योपानेको भुमिका विषयक अन्तरक्रियामा बोल्दै सहभागीहरुले यस अघिको सरकारले दिँदै आएको जनतासँग मुख्यमन्त्री कार्यक्रम स्थानीय रेडियोहरुबाट हटाएर साना स्वराजगारमुलक रेडियोहरुलाई अन्याय गरेको बताए । ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल बानका प्रदेश कोषाध्यक्ष अरविन्द मेहताले प्रदेश सरकार रेडियोहरुप्रति अनुत्तरदायी देखिएको बताए । उनले स्वर्गीय न्यौपानेले रेडियोमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेलले प्रदेश १ मा ब्यवसायीक रेडियोहरुको रोयल्टी ०.५ प्रतिशत बनाउने काममापनि स्व. न्यौपानेको भुमिका रहेको उल्लेख गरे । देशभरीका अरू रेडियोले २ प्रतिशत रोयल्टी तिर्दै आएकोमा प्रदेश १ मा ०.५ प्रतिशत मात्र रोयल्टी तिर्नु परेको उनले बताए ।
विघटित प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले रेडियो मैत्री व्यवहार सरकारबाट नभएको बताए । संचारसंस्था टिकाउनका लागि दिईएको जनतासँग मुख्यमन्त्री कार्यक्रम कटौती गरेकोमा उनले मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारको आलोचना गरे । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तथा प्रदेश सभा सदस्य तुलसी न्यौपानेले स्व. न्यौपानेले सामाजिक, राजनीतिक तथा संचार क्षेत्रमा ठुलो योगदान दिएको बताए ।
सप्तकोशी एफ.एम.का स्टेशन म्यानेजर रहेका स्व. न्यौपाने ब्यवसायीक रेडियोहरुको संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (बान)का अध्यक्ष थिए । उनको २०७८ साल जेष्ठ १४ गते कोभिड संक्रमणबाट निधन भएको थियो । न्यौपानेको संझनामा परिवारले आजैदेखि चन्द्र न्यौपाने मेमोरियल स्मृति ट्रष्ट समेत संचालनमा ल्याईएको छ । स्व.न्यौपानेकी धर्मपत्नी अनिता गुरागाईले संचार क्षेत्रमा केही गर्न खोजेका र आर्थिक अबस्था कमजोर भएर पढ्न नपाएका पत्रकारहरुको लागि कोष मार्फत शिक्षा क्षेत्रमा खर्च गरिने बताईन् । परिवारले शुरु गरेको कोषमा १ करोडको अक्षयकोष बनाउने तयारी रहेको उनले जानकारी दिईन् । प्रेस चौतारी प्रदेश १ कमिटिको आयोजनामा भएको कार्यक्रममा पत्रकार लिलाराज भट्टराईले स्व. न्यौपानेको जीवनीको बारेमा चर्चा गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्