१३ बैशाख २०८१, बिहिबार

प्रदेशको नामले बदनाम गर्यो–निधारमा कालोटिका लाग्यो : मुख्यमन्त्री

संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकारणको बिषय एमालेले नेतृत्व लिनु पर्ने बताएका छन् । हिजो दुई तिहाई हुँदा निर्णय गर्न नसकेको भएपनि अहिले रहेको ठुलो सांसद भएको दलको नाताले एमालेले नामाकरणको नेतृत्व लिनु पर्नेमा जोड दिए । प्रदेश १ सभाको दशौ तथा बजेट अधिबेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ को नामाकरणको बिषयले बदनाम गराएको बताए । अहिले सबैको निधारमा कालो टिका लागेको पनि उनले उल्लेख गरे । ‘प्रदेशको नामको बारेमा सबै भन्दा बढी सांसद भएको एमालेले पहल कदमी लियोस्, मुख्यमन्त्री राईले भने, यदी एमालेले नेतृत्व लिँदैन भने अरु कसैले दायित्व लिएर अरु कुनै दलले वा सांसदको समिति बनाएर कसैले नेतृत्व लिन्छ भने असाध्यै राम्रो हो ।’ उनले पटक पटक प्रदेशको नामको बारेमा नेतृत्व एमालेले लिईदिनु पर्ने बताएका थिए ।
ठुला दलहरुले पहल कदमी र नेतृत्व लिएर सकभर सहमतीमा यदी सहमती नहुँदा बहुमतबाट भएपनि नाम टुंगो लगाउन उनले आग्रह गरे । ‘नामको बिषयमा बदनाम भएका छौँ, उनले भने, निधारमा कालोटिका लागेकोले नामको बिषयलाई यस अधिबेशनको अन्त्यमा भएपनि टुंगो लगाएर जानु पर्छ ।’
हामीले केही गरेनौँ भनेर आलोचना भईरहेको अबस्थामा नामको बारेमा छलफल गरेको भन्ने कुराले केही गरेको जस्तो महसुस भएको उनले भन्न भ्याए । उनले दोश्रो काम राजनीतिक नियुक्तिलाई लिएका छन् । पार्टी भन्दा पनि विज्ञतालाई ध्यानमा राखेर नियुक्ति गरिएको उनले दाबी गरे ।
मुख्यमन्त्री राईले सरकारले ल्याउने बजेट योजना, नीति कार्यक्रम बनाउने कुरा, मुख्यमन्त्री, मन्त्री र सचिव र केही कर्मचारीले कोठामा मात्र बसेर गर्ने कुराको अन्त्य गर्न खोजिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्