०७ बैशाख २०८१, शुक्रबार

गठबन्धन भित्रको अन्तरघातले विराटनगरको कार्यपालिकामा एमालेको एकल बहुमत

संवाददाता

विराटनगर । नेपाली कांग्रेसको अन्तरघातसँगै विराटनगर महानगरपालिकामा एमालेको बहुमत पुगेको छ । कार्यपालिका निर्वाचनमा ६ जना सदस्य एमालेका निर्वाचित भएका छन् । कार्यपालिकामा ६ जना एमालेको निर्वाचित भएसँगै एकल बहुमत पुगेको हो । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।
शनिबार भएको कार्यपालिका निर्वाचनबाट एमालेका ६ जना निर्वाचित भएपछि २९ सदस्यीय कार्यपालिकामा एमालेको संख्या १६ पुगेको हो । कार्यपालिकाको निर्वाचनमा एमालेबाट अल्पसंख्यकका उम्मेद्वार एकजना र महिला उम्मेद्वार ५ जना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्णले ५२ मत ल्याए भने स्वतन्त्र ओमप्रकाशकुमार साहले ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।
अल्पसंख्यकमा कांग्रेसका उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भए । महिलातर्फ सबै (पाँचजना) एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका कमला श्रेष्ठ, सन्तलीदेवी विश्वास, सरिता घिमिरे नेपाल, ताराकुमारी राय र खुश्बु विश्वकर्मा विजयी भएका छन् ।
नेपाली कांग्रेसका अन्जु दाहाल गौतम, गायत्री थापा, रुपा देउजा, विनितासिंह ठकुरी र जसपाकी चुलियादेवि साह पराजित भए ।
९७ जना मतदाता रहेको कार्यपालिका निर्वाचनमा ५० मत रहेको काग्रेस र जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन् । मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिका बन्नेछ । एमालेको उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् । कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।
महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्