०७ बैशाख २०८१, शुक्रबार

विराटनगर महानगरले शुरु गर्यो आयुर्वेदिक उपचार, स्वास्थ्य सेवा केन्द्र संचालनमा

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ ।
औषधिसहित सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने महानगरकी कार्यबाहक प्रमुख कार्कीले बताइन् । उपमेयर कार्कीले सम्पूर्ण महानगरलाई प्रतिनिधित्व हुनेगरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । सबै महानगरवासीको सेवाकालागि अहिलेलाई विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना गरिए पनि आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको बताउँदै उनले आयुर्वेद बारेमा नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गरिन् ।
कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताए । उनले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सबैमा सेवा पुगोस् भन्नका लागि विराटनगरको उत्तरी र दक्षिणी क्षेत्रलाई समेटेर मध्यभागमा आयुर्वेद केन्द्र स्थापना गरिएको उनले प्रस्ट्याए ।
आधुनिक चिकित्साका साथै आयुर्वेद चिकित्सालाई पनि सँगै लानुपर्नेमा कार्यक्रममा सहभागीले जोड दिएका छन् । वडाध्यक्ष तीथेन्द्र न्यौपानेले आयुर्वेद केन्द्रको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए । उनले सञ्चालनमा ल्याइएको आयुर्वेद केन्द्र सफल भए अन्य वडामा पनि विस्तार गर्न सकिने उल्लेख गरे ।
हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए । बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइ लगायतका समस्याको उपचार हुनेछ । त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा उपलब्ध हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्