१६ चैत्र २०८०, शुक्रबार

वीपीको ओपिडी समय थपियो, सरकारले दिने सुविधाको औषधी बाहिर खरिद गर्न प्रतिबन्ध

संवाददाता

विराटनगर । वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा सुधारको अभियान शुरु गरेको छ । काउण्टरको समय हेरफेर गरेर सुधारका केही कामको शुरुवात भएको हा । यसभन्दा अघी ओ.पी.डी. काउण्टर विहान ८ बजे देखी खुल्ने गरेकोमा विरामीहरुको सुविधालाई ध्यानमा राखी ७स्३० बजेदेखी नै काउण्टर खुल्ने प्रतिष्ठाठनले जनाएको छ। विहानी काउण्टर १२ बजेसम्म खुल्ने र दिउसो भने पुरानै समय २ देखि ३ बजेसम्म खुल्ने जनाईएको छ।
अस्पतालले बाहिरबाट हुने औषधीको खरिदलाईै बन्देज गरेको छ।
नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाईमर, मृगौला रोगका विरामीहरुलाई सेवा सुविधाहरु अन्तर्गत पाइने चिकित्सकको सल्लाह बमोजिमको औषधी तथा औषधीजन्य सामाग्रीहरु खरिद गरेवापतको बिल शोधभर्नाका लागि सोझै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएकोमा सो प्रावधानलाई पनि केहि फेरबदल गरिएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका प्रवक्ता डा चुडामणी पोख्रेलले जानकारी दिए । ‘हालसम्म विपन्न नागरिक कार्यक्रमको सहुलियत पाएका विरामीहरुले चिकित्सकले लेखेको औषधीहरु प्रतिष्ठान बाहिरको औषधी पसलहरुबाट पनि खरिद गर्नेसक्ने प्रावधान थियो, उनले भने, आगामी असर १ गतेदेखि लागु हुनेगरि उक्त कार्यक्रम अन्तर्गतका विरामीहरुले औषधि खरिद गर्दा अनिवार्यरुपमा प्रतिष्ठानको फार्मेसीबाट नै खरिद गर्नुेपर्नेछ ।’
प्रतिष्ठानको फार्मेसीबाट औषधी खरिद गरे वापत प्राप्त बिल बिजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई शोधभर्नाका लागि दाबी गर्नुपर्ने पोख्रेलले बताए । कारणबस प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामाग्रीहरु उपलब्ध हुन नसकेको अवस्थामा फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई बाह्य फार्मेसीबाट खरिद गरिएका औषधी तथा औषधीजन्य सामाग्रीहरुको बिल बिजकहरुलाई मात्र शोधभर्नाका लागि दाबी गर्नुपर्ने अनिवार्य ब्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। प्रतिष्ठानको फार्मेसी पुर्णरुपमा संचालनमा आईसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधी तथा औषधीजन्य सामाग्रीहरु पाईने भएकोले विरामीका आफन्तले बाहिर धाउनु पर्ने झण्झटको अन्त्य गर्ने प्रयास भएको पोख्रेलले जानकारी दिए ।
कार्यदलको प्रतिबेदन
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधार गर्न घोपा बचाउ आन्दोलन चर्किएपछि गठित कार्यदलको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन मंगलबार प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाललाई बुझाएको हो । घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा समस्या पहिचान गर्न तथा अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले ७ दिनसम्म सरोकारवालहरुसँग छलफल तथा परामर्श गरेको थियो ।
प्रतिवेदन बुझ्दै निमित्त उपकुलपति डा.खनालले प्रतिवेदनमा औल्याइएको सुझावहरु अध्ययन गरि तत्काल गर्न सकिने कार्यहरु, मध्यकालिन र दीर्घकालिन रुपमा गर्नुपर्ने कामहरुको विस्तृत कार्ययोजना ५ दिनभित्र उपकुलपति कार्यालयमा पेश गर्न सम्बन्धित विभाग, शाखा र महाशाखाहरुलाई निर्देशनसमेत दिएका छन् । घोपा बचाउ अभियानका प्रमुख अभियन्ता सुदन गुरुङले सुधार गर्नुपर्ने विषयलाई तत्काल १५ दिनभित्र, मध्यकालिन र दीर्घकालिन गरि ३ भागमा विभाजन गरेर प्रतिवेदनले सिफारिश गरिएको बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्