०७ बैशाख २०८१, शुक्रबार

नरग्राम माबिको भवन उद्घाटनको बिषय विवादमा, बहुसंख्यक सदस्यको विरोध

संवाददाता

विराटनगर । मोरङको बुढीगगा गाउँपालिकाको नरग्राम माध्यामिक बिद्यालयको नव निर्मित भवनको उद्घाटन गर्ने क्रममा विवाद शुरु भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विद्यालय ब्यवस्थापन समितिले निर्णय नै नगरि बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले नेपाली कांग्रेसका नेतालाई ल्याएर उद्घाटन गर्न लागिएको भन्दै ब्यवस्थापन समितिका अन्य सदस्यहरुले बिरोध जनाएका हुन् । शुक्रवार बिद्यालयको नव निर्मित भवनको नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले उद्घाटन गर्ने तय भएको बिद्यालयले जनाएको छ ।
विद्यालय जस्तो शैक्षिक क्षेत्रलाई राजनीतिकरण गर्न खोजिएको भन्दै बिद्यालय ब्यवस्थापन समितिका बहुसंख्यक सदस्यहरुले आपत्ति जनाएका छन् । विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु होमनाथ तिमल्सिना, निता ऋषिदेव, रेखाकुमारी पासवान, गिता काफ्ले, जितेन्द्र ऋषिदेव र शिक्षक अभिभावक संघका अध्यक्ष मकर बुढाथोकीले संयुक्त रुपमा विद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकलाई कार्यक्रम प्रति असहमती रहेको जनाएका हुन् ।
नेपाली कांग्रेसका नेताको नाममा शिलालेख नै बनाएर बिद्यालयमा राख्न खोजिएपछि त्यसको बिरोध गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष मकर बुढाथोकीले बताए । ‘हामीले गाउँपालिकाको अध्यक्ष, प्रदेशका मन्त्रीहरु वा सार्बजनिक पदमा बसेका जो कोहीलाई पनि ल्याएर भवनको उद्घाटन गर्दा हुन्छ भनेका हौँ, उनले भने, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बिद्यालयमा राजनीतिकरण गर्न खोज्नु भयो, कुनै सार्बजनिक पदमा नभएका सांसद समेत नरहेका ब्यक्तिलाई कांग्रेसका नेता भएकै भरमा बिद्यालय भवनको उद्घाटन गर्दा बिद्यालयमाथि राजनीति भएको देखिन्छ ।’ उनले बिद्यालय कांग्रेसका नेताले गरे भन्नु भन्दापनि पूर्ब सांसदले उद्घाटन गरे भनेर शिलालेखमा लेखिएको भए हुन्थ्यो त्यसो नगरिएको पनि उनको गुनासो छ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव कोईालाले विद्यालय भवनको उद्घाटन २७ गते गर्ने भनेर बिद्यालय ब्यवस्थापन समितिबाट निर्णय गरिएको भएपनि कसलाई ल्याउने भन्ने बारेमा निर्णय नभएको स्वीकार गरे । ‘डा कोईराला पूर्ब सांसद भएको नाताले पनि बोलाउनु पर्ने अबस्था आयो, उनले भने, उहाँको पालामा नै बिद्यालयलाई नमुना बनाउनु पर्छ भन्ने प्रस्ताव गएर बिद्यालय नमुना भएको कारण उहाँबाट नै उद्घाटन गराउन लागेका हांैँ ।’ एक दुई जना सदस्यहरुलाई डा शेखर कोईरालाको नाममा उद्घाटन गर्न लागिएकोमा एलर्जी भएको अध्यक्ष कोईरालाले आरोप लगाए ।
गाउँपालिकाबाट सहमती लिएर डा कोईरालाले उद्घाटन गर्ने भनिएपछि सबै कार्यक्रम तय भएको ब्यवस्थापन समितिका अध्यक्ष कोईरालाले बताए । उद्घाटन गर्न लागिएको भवनको डा कोईरालाले नै शिलान्यास गरेका थिए । तात्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई नमुना बिद्यालय बनाउनु पर्छ भनेर निर्णय गराउने भुमिकामा नेता कोईरालाको साथ रहेकोले उनले नै भवनको उद्घाटन गर्नु पर्ने तर्क बिद्यालय ब्यवस्थापन समिती अध्यक्षको छ । उद्घाटन गर्न लागिएको बिद्यालय भवन ३ तलाको १२ कोठे भवन हो । नयाँ संरचना निर्माण भएको ठाउँमा करिब साढे ३ करोड बढीको लगानी भएको बिद्यालय प्रशासनले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्