१४ बैशाख २०८१, शुक्रबार

विराटनगर महानगर: कार्यपालिकाको पहिलो बैठकमा बजेटमाथि छलफल

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल गरेको छ । वडा अध्यक्षहरूले आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढाउन माग गरेका थिए । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल शुरू भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको हो ।

कार्यपालिकाको पहिलो बैठकमा वडा नं १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धवकुमार भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का वडाध्यक्ष श्याम घिमिरेले बजेटका विषयमा आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा विराटनगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगरका सबै वडालाई न्यायोचित रूपमा बजेट वितरण गरिने बताए । संविधानमा उल्लेख भएअनुसार मुलुकका सबै ७५३ वटै पालिकाले आगामी असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्छ । तसर्थ, महानगरले बजेट निर्माणलाई तीव्र बनाएको छ ।

बजेटमा समेट्नुपर्ने विषयमा केन्द्रित भएर महानगरले सरोकारवालाहरूसँग पनि छलफल सञ्चालन गरिरहेको छ । आइतबार नै नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई मेयर कोइरालाले सपथ ग्रहणसमेत गराएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्