१५ बैशाख २०८१, शनिबार

डुबान समस्या समाधानकालागि मेयर कोइरालाद्वारा भारतीय पक्षको ध्यानाकर्षण

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् ।
भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण गराए । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रहसमेत गरे । ‘आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी रोकिने गरेको छ, कोइरालाले भने, ‘पानीको सहज निकासका लागि प्राविधिक रुपमा के गर्न सकिन्छ तपाईंहरूले गरिदिनु प¥यो ।’
आइसीपीको पर्खालका कारण पानीको निकास रोकिँदा विराटनगर १८ डुबानमा पर्ने गरेको मेयर कोइरालाले बताए । कोइरालाले वर्षाको समयमा पानीको सहज निकासका लागि तत्कालै उपाय खोजी गर्नुपर्नेमा जोड दिए ।
भारतीय पक्षले आइसीपीदेखि कटहरीसम्मको रेलमार्ग निर्माणमा सहजीकरण गरिदिन मेयर कोइरालालाई आग्रह गरेको छ । दूतावासका फष्ट सेक्रेटरी बंसालले ओभरहेड ब्रिज र छेउछाउका टहराका कारण रेलमार्ग निर्माणले गति लिन नसकेको बताए । उनले रेलमार्गमा पर्ने ओभरहेड ब्रिजबाट सर्वसाधारणको आवतजावतमा रोक लगाउन र छेउछाउका टहरा हटाइदिन आग्रह गरेका थिए ।
भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग निर्माण भइरहेको छ । भारततर्फ निर्माण सम्पन्न भए पनि नेपालतर्फ भने मुआब्जा विवाद र रेलमार्गमा पर्ने भौतिक संरचना नहटाउँदा निर्माण हुन सकेको छैन । आइसीपीबाट नेपालतर्फ रेलमार्ग निर्माणको काम धेरै पुुरा भएपनि अझै कतिपय ठाउँहरुमा मुआब्जा लगायतको कारणले समस्याहरु रहेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । हालसम्म रेलमार्गको ८२ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ थियो ।

यहाँ कमेन्ट गर्नुहोस्