१२ बैशाख २०८१, बुधबार

प्रदेश सहयोग कार्यक्रमको समिक्षा, सोचे अनुसार काम नभएको स्वीस राजदुतको भनाई

संवाददाता

विराटनगर । प्रदेश १ मा तात्कालिन मुख्यमन्त्री शेरधन राईको कार्यकालमा स्वीजरल्याण्ड सरकारको सहयोगमा शुरुभएको प्रदेश सहयोग कार्यक्रम प्रभावकारी रहेको सरकारले जनाएकोछ । स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकमा सहभागीले प्रदेश सहयोग कार्यक्रम प्रभावकारी रहेको निश्कर्ष निकालेको हो । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायबाट स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको बताए ।
संघीय प्रणालीलाई बलियो बनाउने स्वीस सरकारको सहयोग कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ, उनले भने, आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।
प्रदेश १ मा सरकारको संस्थागत क्षमता सबलीकरण एवं सुशासन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ ‘प्रदेश सहयोग कार्यक्रम’ सञ्चालित छ । प्रदेश १ सरकारको संरचनात्मक पुनर्निमाण र संस्थागत क्षमता विकास गरी संघीय व्यवस्थालाई सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको भनिएको छ। सहयोग कार्यक्रमअन्तर्गत प्रदेशको नीति तथा कानून तर्जुमा कार्यान्वयन, प्रशासनिक क्षमता, वित्त व्यवस्थापन र सेवा प्रवाह क्षमता सुदृढ गर्ने रहेको छ । यो कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहेको योजना निर्देशक समितिले प्रदेश सहयोग कार्यक्रमको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृति अनुगमन तथा मुल्याङ्कन गर्ने गर्दछ ।
नेपालकालागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले प्रदेश सरकारको आफ्नै आवश्यकता र डिजाइन अनुरुपको कार्यक्रममा सहयोग केन्द्रित गरिएको बताईन् । यो कार्यक्रमका लागि सम्झौता भएको केही समयपछि नै कोभिडलगायतका परिस्थितिजन्य कारणले सोचेअनुरुप काम गर्न नसकिएको उल्लेख गरिन् । राजदूत क्याप्लरले स्वीस सरकारको तर्फबाट नेपालका सात प्रदेशमध्ये सबैभन्दा ठूलो कार्यक्रम प्रदेश नं. १ मा सञ्चालन गरेको बताईन् । प्रदेश नं. १ मा सहयोगको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि जारी राख्ने उनले स्पष्ट पारिन् ।
बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सम, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, प्रदेश सहयोग कार्यक्रमका निर्देशक तथा मुख्यमन्त्री मन्त्रिपरिषद् कार्यालय विराटनगरका सचिव कृष्णप्रसाद सापकोटा लगायत छलफलमा सहभागी थिए । दुई बर्ष अघि संघीय सरकारसँग स्वीकृत लिएर प्रदेश सहयोग कार्यक्रम ४ बर्षको लागि प्रदेश १ मा संचालित छ । ४ बर्षको बिचमा १ अर्ब २० करोड लगानी गर्ने स्वीस सरकार र प्रदेश सरकार बिच सहमती छ । स्वीर सरकारको १ अर्ब र प्रदेश सरकारको २० करोडको साझेदारीमा कार्यक्रम संचालनमा रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्