०१ जेठ २०८१, मंगलबार

सिँगिया खोला गाउँ पस्दा कटहरी १ का ५ सय बढी विस्थापित, विराटनगरको ७ र ८ डुवानमा

संवाददाता

विराटनगर । मोरङ जिल्लामा डुवान र बाढीका कारण ३६७ घर विस्थापित भएका छन् । आज बिहान ९ बजेसम्ममा १ हजार ३ सय ६७ जनालाई डुवान तथा खोलाका कारण अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर ८ को सुकुम्वासी बस्तीमा सिँगिया खोला पसेर डुवान हुँदा २५ घरका ९५ जनालाई सुरक्षित स्थानमा त्रिपालमुनी सारिएको छ। त्यस्तै विराटनगर वडा नम्बर ७ मा ३८ घरका १४५ बिस्थापित भएका छन् । बिस्थापित भएका मध्ये १७ घरलाई गायत्री माबिमा राखिएको छ भने बाँकी आफन्तको सरणमा छन् ।
बेलवारी नगरपालिका वडा नम्बर ६ मा रहेको बाहुनी खैटे खहरे खोला गाउँ पसेको छ। खहरे खोला गाउँ पस्दा ८ घरका ३३ जना आफन्तको सरणमा पुगेको प्रहरीले जनाएको छ। कटहरी गाउँपालिकाको वडा नम्बर १का १५० परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोईरालाले मकालु खबरलाई जानकारी दिए । उनका अुसार कटहरी गाउँपालिका वडा नम्बर १ को टाईगर टोलका ८० घरका २८० जना, हनुमान मन्दिर क्षेत्रका ४० घरका १७० जना र नारी विकास क्षेत्रको ३० घरका १०० जना बिस्थापित भएका छन् । यी बस्तीमा सिँगिया खोला गाउँ पसेको हो ।
डुवानमा परेका परिवारलाई नारी विकास संस्थाको भवन, एकिकृत कृषि थोक बजार र कतिपयलाई सुरक्षित स्थानमा त्रिपाल टाँगेर राखिएको जिल्ला प्रहरी प्रमुुख एसपी कोईरालाले जानकारी दिए । त्यस्तै बुढिगंगा गाउँपालिका १ खापटोलमा सिँगिया खोला गाउँ पसेको छ । खोला गाउँ पस्दा २६ घरका १२५ जना बिस्थापित भएका छन् । उनीहरुलाई वडा कार्यालयको भवनमा राखिएको छ।
सोमबार मध्यरातीदेखि निरतरको बर्षाको कारण धेरै क्षेत्र जलमग्न भएको छ। बर्षाको कारण बिस्थापित हुनेको संख्या बढ्नसक्ने भएकोले सतर्क रहन भनिएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए । संभावित जोखिम क्षेत्रमा प्रहरी परिचालन गरेर उद्दारको काम भईरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्