१४ बैशाख २०८१, शुक्रबार

तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा, सिप विकास र बजारीकरणमा टेवा पुग्ने

संवाददाता

विराटनगर । प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमलाई ढाका कपडाको राजधानी तोकिएको छ। ढाका कपडा उत्पालन थालेको ३९ वर्षपछि सोमवार तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाका कपडाको राजधानी घोषणा गरेको छ । आजभन्दा करिब ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने र बनाउने काम थालिएको थियो । हाते तान बाट बुनिने भएकाले पनि तेह्रथुमे ढाका प्रतिको आकर्षण बढ्दो छ । व्यवसायी रामसिंह आलेले ढाका कपडा बुनेर नै धेरैले आफ्नो जिविको पार्जन परेको बताए ।
म्याङ्लुङ नगरपालिका भित्र मात्रै ४ हजार ५ सय भन्दा बढिले ढाका उद्यमबाट रोजगारी पाएको म्याङ्लुङ नगरपालिकाका प्रमुख संजय तुम्बाहाम्फे जानकारी दिए । ढाका बुन्नेहरूमा अधिकांश महिला छन् । तेह्रथुमे ढाकाको कपडा नेपालमा मात्रै नभई विदेशमा पनि निर्यात हुँदै आएको उनी बताउँछन् ।
ढाकाको राजधानी तोकिएसँगै सीप विकास, प्रविधिलाई जोड दिँदै बजारीकरणमा पनि सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले बताए । यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । १ हजार भन्दा बढी उद्योग भने विना दर्ता संचालनमा रहेको कार्यालयको अनुमान छ । तेह्रथुममा ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको संख्या १० हजार भन्दा बढी छ । बेलायती नागरिक सुसी डान्स्मोरले सन् १९८३ मा लगातार तीन वर्षसम्म तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन । उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट गरिदिएपछि तेह्रथुममा ढाका कपडा बुन्नेहरू आकर्षित भएको बताईन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्