१४ बैशाख २०८१, शुक्रबार

मोरङको जहदामा जन्तीमाथि आक्रमण, ३ जना घाईते, २ जना पक्राउ

संवाददाता

विराटनगर । मोरङको जहदामा एक समुहले जन्तीमाथि आक्रमण गरेको छ । विवाहको लागि आएको जन्तिमाथि आक्रमण गर्ने २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मध्यराती मोरङको जहदा गाउँपालिका वडा नम्बर २ मझारेका बुदन गन्गाई मण्डलको घरमा हुने विवाहमा मोरङकै सुनबर्षी नगरपालिका वडा नम्बर ९ डाईनियाबाट आएको जन्तीलाई मझारेमा आक्रमण भएको प्रहरीले जनाएको छ । जहदा गाउँपालिका वडा नम्बर २ मझारेमा आएपछि जहदा २ का बिकास मण्डल गन्गाई, धिरज मण्डल गन्गाई, दिपक पासवान, विश्वजित मण्डल गन्गाई, दिपेन मण्डल गन्गाई र कटहरी २ कदम गाछीका श्याम यादव समेतको समूहले एक्कासी जन्तीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । समुहको आक्रमणबाट जन्ती पक्षका तीनजना घाईते भएको उनले जानकारी दिए । घटनामा को १८प ७५४१ नम्बरको एउटा मोटरसाईकल जलेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको तथा फरार अन्य ब्यक्तिहरूको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
समुहको आक्रमणबाट घाईते हुनेमा सुनबर्षी नगरपालिका ९ डाईनियाका मिथिलेश झा, रोहित सिंह गन्गाई मण्डल, र प्रकाश साह रहेका छन् । घाइते मध्ये केहीको खुट्टा केहीको मुख तथा शरिरका बिभिन्न भागमा चोट रहेको जनाईएको छ।
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले जहदा गाउँपालिका २ का २३ बर्षीय बिकास मण्डल गन्गाई र कटहरी गाउँपालिका २ कदमगाछीका ४० बर्षीय श्याम यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्