०७ बैशाख २०८१, शुक्रबार

मनमोहन अधिकारीलाई चिनाउन ज्येष्ठ नागरिकको देशदर्शन

संवाददाता

विराटनगर । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले ज्येष्ठ नागरिकको संरक्षणको कुरा स्व. मनमोहन अधिकारीले शुरु गर्नु भएको दोहोर्याएका छन् । मनमोहन स्मृती प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपालमा निर्वाचित कम्युनिष्ठ प्रधानमन्त्री आएपछि मात्र ज्येष्ठ नागरिकलाई भत्ता र उहाँहरुको संरक्षणको कुरा आएको बताए । देशदर्शनबाट फर्किएका ज्येष्ठ नागरिकलाई विदाई तथा सम्मान गर्दै पोखरेलले स्व. मनमोहन अधिकारीलाई सम्झीएका हुन् ।
देशका बिभिन्न जिल्ला पुगेर फर्किएका ज्येष्ठ नागरिकले सातौँ ज्येष्ठ नागरिक देश दर्शन उत्साहजन रहेको बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ३२ जना ज्येष्ठ नागरिक देश दर्शनमा गएका थिए। तीन दिने ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा सहभागी भएका जिवेन्द्रराज घिमिरेले सातौँ जेष्ठ नागरिक देश दर्शन कार्यक्रमले महनमोहनको योगदानलाई चिनाउनको लागि महत्वपुर्ण रहेको बताए । ‘चितवनमा पुगेर सौराहाका गैँडालाई भैसी सुमसुम्याएको जस्तै सुमसुम्याउन पाईयो, उनले भने, रहर पुगुन्जेल बाघ पनि हेर्न पाईयो ।’
ज्येष्ठ नागरिकका लागि जसरी स्व.मनमोहन अधिकारीको योगदान रहेको थियो त्यस्तै उहाँले खेलेको योगदानलाई प्रचार प्रसारको लागि ज्येष्ठनागरिक देश दर्शन कार्यक्रमले भुमिका खेलेको जेष्ठ नागरिक देश दर्शन कार्यक्रममा टिम लिडर सत्यनारायण चौधरीले बताए । तीनदिनसम्म चलेको देश दर्शन नवलपरासी, चितवन, धनुषा, महोत्तरी हुँदै सुनसरीको बराहक्षेत्र हुँदै विराटनगर आएर समापन भएको थियो । ज्येष्ठ नागरिकहरु ३२ जना सहित अन्य ब्यवस्थापन टोली गरेर ४२ जनाको सहभागीता रहेको थियो । सोही अवसरमा जेष्ठनागरिक देश दर्शनमा गएका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्