१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकामा एक रेष्टुरेन्टमा आगलागी भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर २ स्थीत तीनपैनी नजिकैको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीबाट रेष्टुरेन्ट संचालन भएको घर जलेर पुर्ण नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट नजिकै रहेको मोती दुगडको घरमा पनि क्षति पुगेको छ भने दक्षिण तर्फको एक घरमा पनि आगोले भेटेको प्रहरीले जनाएको छ। इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा दिउँसो ग्यास सिलिण्डर लिक भएर आगलागी भएको प्रहरीको भनाई छ ।
आगो नियन्त्रणमा लिन बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट रेष्टुरेन्टका सम्पुर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागी भएर पुर्ण नष्ट भएपछि मात्र दमलक पुगेको कारण रेष्टुरेन्ट पुर्ण रुपमा जलेको संचालकको भनाई छ । ग्यास लिक भएर आगो लागेका कारण त्यसको फैलावट चाँडो भएर छिटो जलेको हुनसक्ने नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।
आगलागी हुँदा रेष्टुरेन्ट भित्र रहेका छ वटा ग्यासका सिलिण्डर पड्किएका थिए । रेष्टुरेन्टलाई सजाउनको लागि माथि नाङ र बाहिर डोको झुड्याएर राखिएको कारण बाँसका सामाग्रीमा लागेको आगो चाँडो फैलिएको प्रहरीको अनुमान छ ।

यहाँ कमेन्ट गर्नुहोस्