०७ बैशाख २०८१, शुक्रबार

विराटनगरको केशलिया नदीको संरक्षण र ब्युटिफिकेशनको योजना तयार

संवाददाता

विराटनगर । केन्द्र र प्रदेश सरकार संयुक्त रुपमा विराटनगर भएर बग्ने केशलिया नदि करिडोर संरक्षणको योजना बनेको छ। सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्य शुरु हुने भएको हो । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरणसँगै कोरिडोर निर्माणका बारेमा विज्ञ सहितले छलफल थालेका हुन् ।
नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा जानकारी गराईएको छ। विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताए । नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउन सकिनेमा जोड दिएका विज्ञहरुले यसबाट विराटनगरवासीले धेरै फाईदा लिन सक्ने पनि बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताए । केशलिया नदीलाई सौन्दर्यकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने उनको भनाई छ। प्र्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागिपर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालनी गर्ने भनिएपनि बिभिन्न कारणले शुरु हुन नसकेको जानकारी दिए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष(२०७९–८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबीनगरपालिका र बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बहने नदीहो । दुवै किनारमा कोरिडोर निर्माण गरी बस्तीलाई संरक्षण गर्न पनि कोरिडोर आवश्यक रहेको तथा विपद्बाट नागरिकलाई सुरक्षित बनाउनकालागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको योजनाको दुई महिनामा तयार भएको हो । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्तहुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवापुग्ने छ ।

यहाँ कमेन्ट गर्नुहोस्