०८ बैशाख २०८१, शनिबार

राधाकृष्ण रथयात्रा : स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको निर्देशन

संवाददाता

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिए पश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी रथयात्राको व्यवस्थापन गर्न भनेका हुन् । विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रुपमा राधाकृष्ण रथयात्रा निकाल्ने गरिन्छ । रथयात्रामा लाखौंको संख्यामा भक्तजनहरू सहभागी हुने गर्छन् ।
यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकी बाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं. १ प्रमुख सहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीको उपस्थिती थियो ।

यहाँ कमेन्ट गर्नुहोस्