१४ बैशाख २०८१, शुक्रबार

सेवा प्रवाह चुस्त बनाउन विराटनगरकी उपप्रमुखको छड्के अनुगमन

संवाददाता

विराटनगर ÷ विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ ।
कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गरिन् । उपप्रमुख कार्कीले ७ र ८ नम्बर वडा कार्यालयको अनुगमन समेत गरिन् । अनुगमनको क्रममा कतिपय कर्मचारी एकैठाउँमा जम्मा भएर गफिने र सेवाग्राहीको काम समेत नगरेको पाईएको छ । कर्मचारी नभएको कोठामा फेन र बत्तीसमेत खुल्ला रहेको भेटिएको उपप्रमुख कार्कीले जानकारी दिईन् । वडादेखि नै छिटोछरितो सेवा प्रवाह भएमा जनगुनासो आउने क्रममा कमी हुने उनको भनाई छ ।
‘वडास्तरदेखि नै जनताका काम सहज रुपमा हुनुपर्छ, उनले भने, त्यही भएर हामीले वडा र सम्बन्धित महाशाखाको अनुगमलाई निरन्तरता दिइरहेका छौं ।’ उनले जनताको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिईन् । उपप्रमुख कार्कीले बिहीबार नै सरस्वती टोलमा रहेको शिक्षा महाशाखाको समेत अनुगमन गरिन् । उपप्रमुख कार्कीले तीनवटै कार्यालयको हाजिरी पुस्तिकासमेत चेक गरेको शिक्षा महाशाखाले जनाएको छ। केही दिनअघि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरेका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्