०७ बैशाख २०८१, शुक्रबार

कार्यदलको प्रतिबेदन : यस्तो छ प्रदेश १ का १४ जिल्लाको पहिचान

संवाददाता

विराटनगर । प्रदेश १ को पर्यटन ब्राण्ड नाम र लोगो तथा प्रचार प्रसार कार्यदलले सरकारलाई प्रतिबेदन बुझाएको छ। पर्यटन तथा संस्कृति मन्त्रालयले कार्यदलले ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ स्लोगन सहितको लोगो भएको प्रतिबेदन सरकारलाई बुझाएको हो ।
कार्यदलका संयोजक भविश श्रेष्ठले प्रतिबेदनमा उल्लेख भएको ब्राण्ड, नाम र लोगो भएको प्रतिबेदन प्रदेश १ को पर्यटन संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेका हुन् । कार्यदलका संयोजक श्रेष्ठले ५० दिन लगाएर कार्यदलले प्रतिबेदन बुझाएको बताए ।
प्रदेश १ का १३७ पालिकाहरुमा नै पालिकाको मुख्य ब्राण्डको खोजी गरेकोमा ११२ वटा पालिकाको पर्यटकीय गन्तब्य र ब्राण्डहरु समेटेर प्रतिबेदन सरकारलाई बुझाईएको बताए । श्रेष्ठको संयोकत्वमा बनेको कार्यदलमा जीतबहादुर राई, दोर्जे सुशिल शेर्पा र कोशल चेम्जोङ रहेका थिए । सदस्य सचिवमा मन्त्रालयले एकजना कर्मचारीलाई जिम्मा दिएको थियो ।
सेलिङ ब्राण्डको नारा दिएर कार्यदलले ब्राण्ड निर्धारण गरेको जनाएको छ । त्यस्ता सेलिङ ब्राण्डहरुमा सुनसरीको बेसार, उदयपुरको तेजपत्ता (सिन्कौली), खोटाङको घँघरुको लौरो, धनकुटाको एभोकाडो, भोजपुरको खुकुरी ब्राण्ड भएको प्रतिबेदन कार्यदलले दिएको छ । त्यस्तै सोलुखुम्बुको लुक्ला बिन्स, ताप्लेजुङको छुर्पी, संखुवासभाको अल्लो, पाँचथरको अलैँची, ईलामको चिया, तेह्रथुमको ढाकाको कपडा, झापाको सुपारी र मोरङको माछालाई बिक्री गर्न सकिने पहिचान भएकोले यसको ब्राण्डिङ र बिक्री बितरणसँग जोडिएको कार्यदलका संयोजक श्रेष्ठले बताए । कार्यदलले प्रदेश १ का १४ जिल्लामा पुगेर त्यहाँको उत्पादन, बजारीकरण र स्थानीयको मागको आधारमा ब्राण्डको पहिचान गरेको जनाईएको छ। ब्राण्डको नाम ल्याउनु भन्दा पहिला सबै जिल्लाका उद्योग वाणिज्य संघहरुसँग पनि समन्वय गरिएको तथा पालिकाहरुले पनि त्यहाँको पहिचान अर्थात ब्राण्ड भएको बारेमा लिखित जानकारी गराएको आधारमा जिल्ला बिशेष पहिचान खोजिएको संयोजक श्रेष्ठले बताए ।
यो कार्यदलले बुझाएको प्रतिबेदनलाई कार्यान्वायनमा लग्ने मन्त्री लिम्बुले बताएकी छिन् । यो कार्यदलले आफ्नो प्रतिबेदन बुझाईसकेकोले त्यसमा उल्लेख भएका बिषयहरु मन्त्रालयले थप अध्ययन गरेर यसलाई मन्त्री परिषदबाट पारित गरि कार्यान्वायनमा लग्ने बताईन् । ब्राण्ड भनेको स्थानीय पहिचान भएकोले त्यो पहिचान र उत्पादनसँगै बजारीकरणसँग पनि जोडिने भएकाले ब्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताईन् । यो एउटा उद्यमी बनाउन अभिप्रेरित गर्ने पर्यटन प्रवद्र्धनको बातावरण बनाउने पनि भएकाले यो बिषय निक्कै महत्वपुर्ण भएको उनले उल्लेख गरिन् ।

यहाँ कमेन्ट गर्नुहोस्