१४ बैशाख २०८१, शुक्रबार

सामाजिक सुरक्षा कोषको सुबिधा बारे श्रमिक बेखबर

संवाददाता

विराटनगर । सामाजिक सुरक्षा कोषको शाखा कार्यालय बिराटनगरमा संचालनमा आएको छ। कार्यालयको स्थापना पछि बिराटनगरको होटल एसियाटिकमा आयोजित कार्यक्रममा कोषका संचालक समितिका सदस्य पुष्कर आचार्यले श्रमिकका लागि नयाँ युगको सुरुआत अझैपनि भईनसकेको बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा ऐन लागु गर्दै गर्दा श्रमिकका लागि नयाँ युगको सुरुवात भएको बताएपनि त्यसको महसुस अहिलेसम्म पनि हुन नसकेको बताए । नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष समेत रहेका आचार्यले सबै श्रमिक मजदुर आफूले प्राप्त गर्ने सेवा सूविधाबारे अझैपनि बेखबर रहेको बताए ।
प्रदेश र स्थानीय तहको सरकार यसका लागि प्रभावकारी भूमिकामा रहेपनि दुवै सरकारबाट ऐन लागु गर्न कठिनाईमा रहेको उनले बताए । टे«ड यूनियनकर्मीहरु ऐनको पञ्जीकरणदेखि लागु नहुञ्जेलसम्म श्रमिकको पक्षमा सुविधा प्राप्त नहुञ्जेलसम्म चुप लागेर नबस्ने आचार्यले बताए । बृद्ध भत्तामा १३ अर्ब रुपैया राख्न सक्ने सरकारलाई आफूहरुले पटकपटक कम्तीमा ५ अर्ब रुपैया जम्मा गरिदिएर कोषलाई ब्यवस्थित गर्न आग्रह गरेको उनले बताए ।
टे«ड यूनियन, श्रमिक, उद्योगीबीच समन्वय, सहकार्य गर्दै कोषलाई परिस्कृत गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले आपसी समन्वय र सहकार्यका आधारमा कोषलाई परिस्कृत गर्न उनले सुझाव दिए । श्रमिकलाई ब्यवस्थित गर्दै समाजिक सुरक्षा कोषको कार्यान्वायनमा संगठनले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सामाजिक सुरक्षा कोष सेवा सञ्चालनका लागि विगत १६ महिनादेखि उद्योग संगठन मोरङले समन्वय गर्दै आएको थियो । कोषका उप निर्देशक रोहित रेग्मीले प्रदेश १ को विराटनगर र मधेश प्रदेशको सिमरामा एकैपटक शाखा कार्यालयको उद्घाटन गरि कार्य सुरु गरिएको जानकारी दिए । श्रमिकलाई काम गर्दै गर्दा घाइते भए १ वर्षसम्म १ लाख रुपैयासम्मको उपचार खर्च ब्यहोरिने जानकारी दिए । दुर्घटना वीमा, श्रमिकको दुर्घटना भइ घाइते अवस्थाबाट जागिरबाट बेदखल हुदाँ तलबको ६० प्रतिशत रकम, मासिक पेन्सन लगायतका सुविधा रहेको पनि उनले जानकारी दिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकलाई राज्यले दिने सुबिधालाई कोषको माध्यामबाट पुरा हुनु पर्ने बताए । स्थानीय तह, उद्योगी तथा श्रमिक क्षेत्रलाई सुरक्षित राखेर अघि बढ्नुपर्ने कोईरालाको भनाई थियो । ट्रेड यूनियन कांग्रेसका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले कोषले श्रमिकको अधिकार, सुविधालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । उनले अनौपचारिक क्षेत्रलाई समेत ब्यवस्थित गर्न स्थानीय तहसंग अनौपचारिक रुपमा छलफल हुदै आएको बताए । जिफन्टका मनोज मगरले श्रमिक क्षेत्रलाई ब्यवस्थित गरि सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वायनमा जोड दिए । समाजवादी श्रमिक संगठन प्रदेश १ की अध्यक्ष निलम ढुंगेलले पटक माग गर्दा विराटनगरमा शुरु भएका सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना भएर संचालन हुनुले श्रमिकका समस्या प्रदेशबाट नै समाधान हुनेमा आफु विश्वस्त रहेको बताईन् ।

यहाँ कमेन्ट गर्नुहोस्